१२ असार २०८१, बुधबार

ललितपुर नल्लु घटना : निसासिएर ५ जनाको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका


मृत

काठमाडौं । ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु घटनामा दुई दिने शिशुसहित एकै परिवारका ५ जनाको निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानवाट प्रहरीले आशंका गरेको छ ।

कोञ्ज्योसोम गाउँपालिका-४ मा रहेको नल्लुमा आज सोमबार बिहान एकै परिवारका ४ जनाको घटनास्थल र १ जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । ४ जना घरभित्र मृत फेला परेका थिए भने २ जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा २ दिने शिशुको मृत्यु भएको प्रहरीले बताएको थियो ।

यस्तै गम्भीर अवस्थामा रहेका घरमुली २२ वर्षीय शुभ स्याङतानको उपचार जारी रहेको छ । प्रहरीका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, २४ वर्षीय शुष्मा स्याङ्तान र ७ वर्षीय आष्मा स्याङ्तान मृत फेला परेका थिए ।

स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । परिवारका सवै सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएकोले ५ जनाकै निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । यद्यपि मृत्युको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

मृतक २३ वर्षीय सुस्मा स्याङतानले २ दिनअघि बच्चा जन्माएकोमा बच्चालाई न्यानोमा राख्न उनीहरुको कोठामा आगो बालेर सुतेको भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान जारी राखेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !