१३ आश्विन २०८१, आइतबार

युएईमा रहेका पत्रकार पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण


नेपाल पत्रकार महासङ्घ

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्ना रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको महासंघले बताएको छ ।

पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको महासंघले बताएको छ । नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको पत्रकार महासंघका महासचिव रोसन पुरीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ हेर्नुहोस् महासंघद्वारा जारी गरिएको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !