८ माघ २०८१, मंगलबार

काठमाडौंको ढुंगेअड्डामा फेला परेका कुकर बम सेनाद्वारा डिस्पोज


ढुंगेअड्डामा फेला परेका कुकर बम

काठमाडौं । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज शुक्रबार बिहान काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा फेला परेका कुकर बम डिस्पोज गरेको छ । आज शुक्रबार बिहानै ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिक कुकर बम फेला परेका थिए ।

कलंकीको कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले केहीबेरअघि डिस्पोज गरेको महानगरीय प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

हिजो बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको स्थानीयले बताएका छन् । जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली पाइएको छ ।

कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले बताएको छ ।

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्न प्रयास गरिरहेको सन्दर्भमा एमसीसी संसदमा पेश गर्नु नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए ।

साथै एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो भने नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !