१४ असार २०८१, शुक्रबार

काठमाडौँको बालाजुमा मिनिबसले ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु


दुर्घटना

काठमाडौँ । काठमाडौंको बालाजुमा मिनिबसले ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको छ । मिनिबसले ठक्कर दिँदा १ जना युवक र अर्की १ जना महिलाको मृत्यु भएको हो ।

आज बिहान करिब ६ बजे बालाजुको गंगा हल अगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी लगभग ५० वर्षीया महिला रहेको महानगरीय ट्राफिक महाशाखा स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो । बसको नम्बर खुल्न सकेको छैन । यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !