३१ भाद्र २०८१, सोमबार

विप्लव-वैद्यसहित अन्य दलद्वारा भोलि नेपाल बन्द


विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य दलहरुले भोलि नेपाल बन्द गर्ने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा माओवादी समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबिरुद्ध भोलि नेपालबन्द गर्ने भएका हुन् ।

सरकारले भोलि संसदमा एमसीसी टेवुल गर्ने तयारी गरेकोले नेपाल बन्द गर्ने भएका हुन् । नेपाली काँग्रेसको आज नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकले संसदवाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय ती दल र मोर्चाले गरेपछि नेपाल बन्द गर्न लागेका हुन् ।

गत फागुन १ गते नेकपा लगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र धम्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै सभाहरु र काठमाडौँमा संसद् भवनअगाडि प्रदर्शन गर्ने निर्णय गरेका थिए ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले आज संयुक्त विज्ञप्ति जारी गरी अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाइको घोर निन्दा र भत्र्सना गरेका थिए ।

६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन २ गतेको संसद्को बैठक फागुन ४ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख गरिएको थियो । संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको थियो ।

यस्तो थियो हेर्नुहोस् फागुन १ गते जारी गरिएको प्रेस विज्ञप्ति

नेपाल बन्द

मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसालले भने भोलि हुने नेपाल बन्दमा आफू सहभागी नहुने बताएको छ । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

यस्तो छ हेर्नुहोस् नेकपा मसालद्वारा जारी गरिएको प्रेस विज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी मसाल

केन्द्रीय कार्यालय

प्रेस वक्तव्य

हाम्रो पार्टी ने.क.पा. (मसाल) लगायत विभिन्न बामपन्थी संगठनहरुको कार्यगत एकता भई एमसीसीका विरुद्ध विगतदेखि नै संयुक्त आन्दोलन हुँदै आएको छ । यस सिलसिलामा भोलि २०७८ फागुन ४ गते एमसीसी विरुद्ध संयुक्त आन्दोलनको कार्यक्रमको आयोजना गरिएकोमा कार्यगत एकतामा रहेका कतिपय बामपन्थी संगठनहरुले नेपाल बन्दको कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ । हामीलाई उक्त नेपाल बन्द कार्यक्रमबारे पूर्व जानकारी नभएर आज मात्रै जानकारी भएको र त्यसबारे हामीलाई तत्काल देशव्यापी रुपमा तयारी गर्न सम्भव नभएकोले भोलिको बन्द कार्यक्रममा हाम्रो पार्टीको सहभागिता रहने छैन । तर पूर्व निर्धारित कार्यक्रम अनुसार देशभरि एमसीसीका विरुद्ध विरोध सभाका कार्यक्रम एकल वा संयुक्त रुपमा समेत आयोजना गरिने जानकारी गराइन्छ ।

मिति २०७८ फागुन ३ गते

रामप्रकाश पुरी
प्रवक्ता

मसालद्वारा जारी प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !