काठमाडौँ । चर्चित नियात्रा ‘घनघस्याको उकालो काट्ता’ का नियात्राकार डा. तारानाथ शर्माको निधन भएको छ । शर्माको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो ।
उपाध्याय भण्डारी तारानाथ ‘घनघस्याको उकाली’का पर्याय थिए । उनी नेपाली भाषा साहित्य अन्तर्गत नियात्रा लेखनका लोकप्रिय थिए । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका डा. शर्मा जीवनको अन्तिम अवस्थासम्म प्राध्यापन पेशामा संलग्न थिए ।
उनी झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक थिए । उनी नेपाली भाषा र साहित्यमा झर्रोवादीका रूपमा चिनिन्छन् ।
‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १०० भन्दा बढी पुस्तक प्रकाशित छन् । शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए ।
उनको पारिवारिक स्रोतका अनुसार लामो समयदेखि डिमेन्सिया रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेह समेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।
इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका थिए । उनका भाई वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको दुई वर्ष अघि मात्र निधन भएको थियो । दुर्गानाथ नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता थिए ।
उनको मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।
मदन पुरस्कार गुठीले शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक संजाल ट्वीटरमा लेखेको छ, ‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना सर्मा (१९९१।०३।०९-२०७८।११।०३) प्रति हार्दिक श्रद्धा । म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँ, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ… तिनका वरिपरिका बाजाहरू सनाई र कर्नाल हुन्थे…
संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना सर्मा (१९९१।०३।०९-२०७८।११।०३) प्रति हार्दिक श्रद्धा।
"म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँ, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ… तिनका वरिपरिका बाजाहरू सनाई र कर्नाल हुन्थे…" pic.twitter.com/ZeEU1uzFkY
— Madan Puraskar (@MadanPuraskar) February 15, 2022