प्यूठान । प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज शनिबार बिहान ३ बजे प्यूठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा भएको हो । जिप अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमा पहिरो गएका कारण जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा गौमुखी गाउँपालिका-६ लिवाङ निवासी ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार हुँदैछ । दुर्घटनास्थल निकै विकट भएतापनि घाइतेको उद्धार गरेर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा नौबहिनी गाउँपालिका-६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका-६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् ।