काठमाडौँ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
भूकम्पले नभई कमजोर संरचनाले मानवीय लगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ ।
भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
कार्यक्रममा गृह मन्त्रालय, विभाग, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)लगायत संस्थाका सङ्ख्या तोकिएका जनशक्तिमात्र जम्मा भएर अरुलाई भर्चुअल माध्यमबाट चेतना जगाउने गरी कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ । कोरोना भाइरसको नयाँ स्वरुपका कारण कार्यक्रमको स्वरुप परिवर्तन गर्न बाध्य हुनुपरेको मूल समारोह समितिले जनाएको छ ।
भर्चुअल सहभागी हुन चाहनेका लागि गृह मन्त्रालयको वेबसाइटमा जुमआइडी र पासवर्ड राखिएको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचार–प्रसार उपसमितिको संयोजकसमेत रहनुभएका विभागका महानिर्देशक मैनालीले सुनाए । जुमआइडीमा जति मानिस पनि सहभागी हुनसक्ने समितिले जनाएको छ ।
यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् । यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ ।
यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।
यसको पुनःनिर्माणका लागि छ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गर्नुभयो । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण गत वर्ष सम्पन्न भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकिएको अवधिमा काम नसकेपछि पुनःनिर्माणका बाँकी काम सम्बन्धित विभागलाई हस्तान्तरण गरिएको छ ।
भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ । पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प नगएकाले शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ । भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञको अध्ययनबाट देखिएकाले त्यस क्षेत्रमा जनचेतना फैलाउने कामलाई विभागलगायत सरोकार भएका निकायले प्राथमिकतामा राखेका छन् ।
दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ ।