८ मंसिर २०८१, शनिबार

आन्दोलनरत रुबि खानको अनसन तोडियो, सरकारसँग ४ बुँदे सहमति


रुबि खानको अनसन तोडियो

काठमाडौँ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४० दिनदेखि भएको आन्दोलनरत रुबि खानले अनसन तोडेकी छन् ।

सहमतिपछि मंगलबार साँझ नागरिक आन्दोलनका अगुवा डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको हो । सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिपछि आन्दोलनरत पक्षले अनशन तोड्दै धर्ना स्थगित गरेको हो । सहमतिअनुसार घटनाको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्नेछ ।

मंगलबार गृह मन्त्रालयका तर्फबाट सहसचिवहरू मुकुन्द निरौला, प्रदीप कुमार कोइराला, भीमबहादुर भुसाल तथा प्रशासन विज्ञ सुनील खनाल, उपसचिव दिलकुमार तामाङ, बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा.गोविन्द केसी, मोहना अन्सारी, ओमप्रकाश अधिकारी, विमल अर्याल, बसन्त रञ्जितकार, कौशिला बागवान, गीता चामार, मनकुमारी गुरताल र अनसनरत स्वयम् खानसहितको वार्तामा गृहमन्त्रालयमा ४ बुँदे सहमति भएको हो ।

आन्दोलनरत पक्ष र सरकारबीच निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औँल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्ने, साथै घटनाका जाहेरी पक्ष आन्दोलनरत व्यक्तिसमेतलाई अभियुक्तहरूका तर्फबाट धम्की, प्रलोभन आएकाले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति भएको छ ।

यस्तो छ चार बुँदे सहमति

१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।

२. यस विषयमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।

३. यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि ुफलोअपु गर्ने सहमति गरियो ।

४. उल्लेखित विषयलाई लिएर आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !