काठमाडौं । ५० लाख रकमसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ परेका छन् । सौर्य एयरलाइन्सका कर्मचारी अवैध रकमको ओसारपसारमा मुछिएका हुन् । सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको ५० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं सिनामंगल बस्ने मोरङ जिल्ला विराटनगर महानगरपालिका–४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई रहेको प्रहरीले बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले सो रकम लिन आएको अवस्थामा सौर्य एयरलाइन्समै कार्यरत कर्मचारी पोखरेललाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाडौं आएको सो विमानमा रहेको रातो रङको ब्याग चेकजाँच गर्दा लुकाइछिपाइ राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेलापरेको प्रहरीले जनाएको छ । रकमको स्रोत खुलेको छैन ।
बिराटनगरबाट काठमाडौं जान लगेको सौर्य एयरलाईन्सको जहाजमा सोही एयरलाईन्सका बिराटनगर स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गरेको थियो ।
प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
विराटनगरस्थित स्टेशन म्यानेजर पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । यसमा एयरलाइन्सकै समेत मिलेमतोको आशंका गरिएको छ । एयरलाइन्समै अवैध कारोबारीको लगानी रहेकाले पनि यसरी अवैध ओसापसार भएको हुनसक्ने आशंका प्रहरीको छ । सो घटनामा राजश्व अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएको छ ।