१२ असार २०८१, बुधबार

डोटीको खप्तड क्षेत्रमा हिमपातका कारण घर बाहिर निस्किन सकस


डोटीको खप्तड क्षेत्रमा हिमपात

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।

हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणीय भएका छन् ।”

अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ ।

खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोला देउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएको छ ।

यसैगरी हिमपातकै कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ ।

हिउँ परेपछि तराईबाट पहाड र पहाडबाट तराईका जिल्लाका लागि छुटेका दर्जर्नौँ सवारीसाधन अहिले राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । उक्त राजमार्गको हिउँ पन्छाउन सडक विभागको डोजर प्रयोग गरिएको प्रहरीचौकी घण्टेश्वर गैराले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !