१२ असार २०८१, बुधबार

झापामा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु


दुर्घटना

बनियानी । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा बुधबार राति २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५/४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएको उनले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकलाई अस्पतालमै राखिएको छ भने मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !