१२ असार २०८१, बुधबार

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते


दुर्घटना

ओखलढुङ्गा । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।

प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्ले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताए । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी-९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी-९ र चम्पादेवी गाउँपालिका-९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्ब लगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !