१२ असार २०८१, बुधबार

हेलिकोप्टरमार्फत विद्युत् सामग्री ढुवानी


हेलिकोप्टर फाइल फोटो

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेको गाउँपालिकाभित्रकै दुर्गम क्षेत्र सिस्नेको १ नम्बर वडामा निर्माण गर्न लागिएको ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

भौगोलिक हिसाबले विकट सडक सञ्जालमा नजोडिएको त्यस क्षेत्रमा विद्युत् आयोजना निर्माणका लागि ठूला सामान ढुवानी गर्ने अन्य कुनै माध्यम नभएपछि हेलिकोप्टरमार्फत सामान पु¥याइएको हो । केही समयअघि नै बुटवलबाट रुकुमकोटमा आएर थन्किएका ती सामान सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाखाओरालीमा पु¥याइएको हो । रुकुमकोटबाट चारवटा पेनस्टक पाइप, तीनवटा ट्रान्सफर्मर हेलिकोप्टरमार्फत सिस्ने पु¥याइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार इएलसी प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेम, एक्पान्सन ज्वाइन्ट, भल्बलगाएत १० हजार किलोग्रामका सामग्री हेलिकोप्टरमार्फत सिस्ने–१ मा पु¥याइएको छ । यी सबै सामग्री हेलिकोप्टरले १५ खेपमा सिस्ने फालेको छ । बाँकी रहेको लाइन विस्तारको तार भने देउखोलासम्म गाडीमा लैजाने र त्यहाँबाट मानिस अर्थात् घोडाखच्चडबाट लैजाने गाउँपालिकाका प्रवक्ता केसीले बताउनुभयो ।

सिस्नेमा पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणको काम आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको थियो । यस आयोजनाको काम गत आर्थिक वर्ष २०७७/७८ मै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । समयमै काम सम्पन्न गर्न नसकेपछि एक वर्ष म्याद थप गरी काम अगाडि बढाइएको र यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष राखिएको प्रवक्ता केसीको भनाइ छ ।

उहाँका अनुसार अहिलेसम्म पाखाओरालीमा तार, पोलसँगै कुलो र नहर निर्माणको काम सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा भने कोभिडका कारण काम प्रभावित बन्न पुगेको थियो । गत वर्ष कोभिडकै कारण सामान ढुवानीमा समस्या भएपछि आयोजनाको काम सम्पन्न हुन नसकेको गाउँपालिकाले जनाएको छ । उक्त विद्युत् आयोजना निर्माणको काम सम्पन्न हुँदासम्म रु तीन करोड लाग्ने अनुमान गरिएको छ । विद्युत् आयोजना निर्माणको काम रु एक करोड ५२ लाखमा गोक्यो इन्जिनियरिङ कम्पनीले लिएको छ । उसले ओसियन पावर सर्भिस प्रालिमार्फत काम गरिरहेको छ ।

यस्तै रु ६० लाख बराबरको काम उपभोक्ता समितिमार्फत भएको गाउँपालिका प्रवक्ता केसीले बताउनुभयो । यसमा प्रदेशको समपूरक अनुदानको रु ५० लाख र बाँकी खर्च सिस्ने गाउँपालिकाको रहेको छ । सिस्ने गाउँपालिका आफैँले निर्माण गर्न लागेको ठूलो लघुजलविद्युत् आयोजनाबाट सिस्ने–१ का सबै अर्थात् ४५० घरधुरीले लाभान्वित हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !