७ मंसिर २०८१, शुक्रबार

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक


जात्राको रौनक

बैतडी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, सुर्नयास्थित भवानी, शिवनाथ, महारुद्र, पुर्चौडीस्थित त्रिवेणीधाम (राताशीला) र दोगडाकेदारमा रहेको भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ ।

राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलास्थित मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा र डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
यसैगरी बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

यसैगरी मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो ।

यो समयमा लाग्ने जात्रामा टाढा–टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयवासी गङ्गासागर जोशीले बताउनुभयो । भाइटीकाका दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।

यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।” कार्तिक शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रूपमा समेत लिइने गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !