७ मंसिर २०८१, शुक्रबार

पहिरापीडितको पुनःस्थापन र पुनर्निर्माणमा ढिलाइः स्थानीवासी मर्कामा


दोर्दी खोला

पाँचथर । पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँच थरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका स्थानीयवासी समस्यामा परेका छन् ।

लेकगाउँसम्म पुग्ने सडक, विद्युत्, खानेपानीलगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिराले सयौँ स्थानमा सडक अवरुद्ध भएपछि राँके–रवि–भेडेटार सडकको कन्याटार–कम््युटर खण्ड अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यहाँको लेकगाउँ, खोलाखर्क, भाङटारलगायत क्षेत्रका १२६ परिवारका ६६४ जना स्थानीयवासी सडकको पहुँचबाट बाहिर छन् ।

आपतकालीन अवस्था आइलागे झण्डै दुई घण्टा पैदलयात्रा गरेर पहिरासहितको भिर छिचोल्नुपर्ने उनीहरुको बाध्यता छ । यस्तै पहिराले क्षतविक्षत् बनाएको विद्युत् अझैसम्म सुचारु हुन नसक्दा स्थानीयवासीको दीपावली पनि अन्धकारमा बितेको छ । स्थानीयवासीले दसैँका लागि जोहो गरेको खाद्यान्नले अहिलेसम्म गुजारा चलाइरहेका छन् ।

मिक्लाजुङ–७ भाङटारका राजन बानु राईका अनुसार मिक्लाजुङ–६ कन्याटार क्षेत्रबाट सडक खुलाउने प्रयास भइरहेपनि सफल हुनसकेको छैन् । “सडकमा ठूलठूला पहिरा गएका कारण उल्लेख्य काम हुन सकिरहेको छैन्”, उहाँले भन्नुभयो, “खानेपानी, विद्युत्लगायत संरचनाको पुनःनिर्माण नहुँदा हामी धेरै समस्या छौँ ।”

पहिराका कारण यहाँ दुई जनाको ज्यान जानुका साथै एक दर्जन बढी परिवार प्रभावित भएका छन् । तीमध्ये तीन परिवार त छिमेकीको शरणमा बसिरहेका छन् । “सडक नखुलेर हो वा किन हो थाहा भएन । तर अहिलेसम्म यहाँ कोही राहत लिएर आइपुगेका छैनन्”, राईले भन्नुभयो, “यसपाली त हामीलाई चाडपर्वले छोएको छैन् ।” यहाँका स्थानीयवासी बिरामी परे उपचार गर्ने आधारभूत स्वास्थ्य केन्द्र समेत यहाँ छैन् । “आकस्मिक बिरामी परे अस्पतालसम्म लैजान निकै कठिन छ”, स्थानीयवासी मधुप्रेम राईले भन्नुभयो, “हामी त नाकाबन्दीको अवस्थामा परेका छौँ । बाटो चाँडो खुलाउन सके सहज हुन्थ्यो ।”

लामो समयसम्म सडक अवरुद्ध बनिरहे बिरामीलाई उपचारमा लैजान, खाद्यान्नको प्रबन्ध गर्न कठिन पर्ने स्थानीयवासीको चिन्ता छ । सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत अत्यावाश्यक सामग्रीको अभाव खड्किने अवस्था आएको लेकगाउँका स्थानीयवासी समेत रहनुभएका शिक्षक सञ्जय राईले बताउनुभयो ।

मिक्लाजुङ गाउँपालिकाले राकेँ–रवि–भेडेटार सडक आयोजना कार्यालयसँगको समन्वयमा सडक खुलाउने प्रयास थाले पनि सफल हुनसकेको छैन् । बेमौसमी वर्षापछि यहाँका सबै खोला–खोल्सीमा बाढी आउनुका साथै यत्रतत्र पहिरो झरेपछि पुनःनिर्माणको कुनै पनि कार्य समयमा अगाडि बढ्न सकेको छैन् ।

मिक्लाजुङ–५ बालुवानीदेखि मिक्लाजुङ–७ कम्फ््युटारका बीचमा सडकमा सयौँ स्थानमा पहिरा झरेको छ । कतिपय स्थानमा सडक पहिराले बगाएको छ । यी स्थानमा सडक निर्माणमा लामो समय लाग्ने अवस्था छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले पहिराले गाउँपालिका क्षतविक्षत् हुनुका साथै स्थानीयवासीले ठूलो समस्या भोगिरहँदा सरकारी निकायले उचित सहयोग र समन्वय नगरेको गुनासो गर्नुभयो ।

“समयमै सडक सुचारु गराएर सम्भावित कठिनाई रोक्न सहयोग मागिरहेको छु”, अध्यक्ष माखिमले भन्नुभयो, “प्रशासनिक निकायले विभागीय कार्यालयलाई संरचना पुनःनिर्माणमा परिचालन नगर्दा हामीले ठूलो समस्या भोग्नु परिरहेको छ ।”

यही कात्तिक १ देखि ३ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरा जाँदा मिक्लाजुङ क्षतिग्रस्त बनेको हो । पहिरामा परी यो गाउँपालिकामा २२ जनाको मृत्यु भएको छ भने तीन जना अझैसम्म बेपत्ता छन् । बाढीपहिराले निर्माणाधीन राँके–रवि–भेडेटार सडकको मिक्लाजुङ गाउँपालिका खण्डमा अत्यधिक क्षति पु¥याएको छ । मिक्लाजुङ गाउँपालिकाभित्रका अन्य सडकसमेत क्षतिग्रस्त छन् ।

बाढीपहिराले विद्युत्, खानेपानी, सिँचाइलगायतका संरचना क्षति पु¥याउदा स्थानीयवासी समस्या भोग्न बाध्य बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !