पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ । बसाइँ सरेर जाने ठाउँ पनि छैन ।
ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन । बैसठ्ठी वर्षीया मनरुपाले पहिरोकै कारण दुई छोरा र चार जना आफन्त गुमाउनुपरेको छ तर अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उहाँका दिन बितिरहेका छन् ।
“मेरो त भाग्य नै यस्तै होला”, गहभरि आँशु पार्दै मनरुपाले भने, “पापी पहिराले पहिला साइँलो छोरा लग्यो, अहिले काँइलो ।” छब्बीस वर्षको अन्तरालमा दुई छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त र उदास छिन् । जोखिमपूर्ण बस्ती रहेको मिक्लाजुङ–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो ।
मनरुपाका अनुसार विसं २०५२ मा गएको पहिरोमा उनका साइँलो छोरासहित उनकी बहिनी, बहिनीका दुई छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए ।
यस वर्ष बेमौसमी वर्षापछि पुस्तौँदेखि खेती गर्दै आएको बारी तथा भिरपाखा भत्किए । मनरुपाका काइँला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए । गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए ।
क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पुर्यो । उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएका घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन । “हामी यस्तैमा बसेका छौँ । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ”, मृतक सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन् ।
सात दलितसहित अठभैयाका नौ परिवार वर्षौंदेखि जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका बीचमा रहेको पाखामा घर बनाएर बसेका दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भने, “अलिअलि पहिरो वर्षौंपिच्छे गइरहेको थियो । यसपालि ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो ।”
तर पीडितले जोखिममा गुजारा चलाउँदै आएका भए पनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन । पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोषको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् । “पहिले मेरो छोरोसहित आफन्त बित्दा सरकारले रु सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओछ्याउने दिएको थियो”, मनरुपाले भनिन्, “यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन ।”
हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीको छ । बाढी र पहिरामा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना बेपत्ता छन् । यहाँ सडक, विद्युत्, खानेपानी, सिँचाइ, घर तथा गोठ, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतबारी तथा कृषिउपजमा बाढी र पहिराले निकै ठूलो क्षति पुर्याएको छ ।
बाढी र पहिराले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तव्यस्त हुँदा क्षतिको पूर्ण विवरणसमेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बेमौसमी वर्षाका कारण बाढी र पहिराले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले बताए ।