काठमाडौँ । कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् ।
पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन । यी सडक ३७, ४० र ४९ चेनेजमा रहेका छन् ।
अवरुद्ध सडकमा बझाङमा खोड्पे– चैनपुर सडकको जालिबगर र नारुगौणा रहेका छन् । धनगढी–सहजपुर–वुडर–स्याउले र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ ।
पछिल्ला वर्षाका कारण अवरुद्धमध्ये कतिपय सडक तत्कालका लागि खुलाइएको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेका छैनन् ।
आसिंक रुपमा मात्रै सञ्चालनमा रहेका सडकमा राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास–सिन्धुली–खुर्काेट–धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट– खुलालु– मान्म र नाग्मा–जुम्ला सडकको विभिन्न खण्ड रहेका छन् ।