१२ असार २०८१, बुधबार

निःशुल्क रगतले बिरामीलाई सहज


ब्लड बैंक

परासी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ ।

रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता अनुरुप रगत उपलब्ध गराउन थालिएको शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । “नागरिकता र अस्पतालको सिफारिसका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौँ, त्यसवापतको रकम सम्बन्धित स्थानीय तहले रेडक्रसलाई भुक्तानी गर्छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा रेडक्रसले सञ्चालन गरिरहेका रक्तसञ्चार केन्द्रमा १०० प्रिन्टसम्म रगत जम्मा गर्ने क्षमता छ । जिल्लामै सबै रगत भने खपत हुँदैन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा रगत पठाउने गरिएकामा पछिल्लो समय जिल्लाकै अस्पतालमा रगतको खपत बढ्दै गएको अग्रहरीले बताउनुभयो ।

स्थानीय तह र रेडक्रसको समन्वयमा निःशुल्क रगत उपलब्ध हुन थालेपछि बिरामीको उपचारमा थप सहज भएको रामग्राम–४ का अर्जुनबहादुर क्षेत्रीले बताउनुभयो । “पहिला हामी आफैँले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो, अहिले नगरपालिकाले रकम भुक्तानी गर्न थालेपछि सहज रुपमा रगत पाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।

रेडक्रसले रक्तदानको महत्व बुझाउन गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । वडा वडामा सचेतना गोष्ठी सञ्चालन गर्ने तयारी रहेको अग्रहरीले बताउनुभयो ।

अग्रहरी दम्पतीद्वारा दश लाख सहयोग

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सभापति राजेन्द्रप्रसाद अग्रहरी र उहाँकी धर्मपत्नी गायत्री अग्रहरीले शाखालाई रु दश लाख सहयोग गर्नुभएको छ ।

राजेन्द्रप्रसाद–गायत्री अग्रहरी अक्षयकोष स्थापनाका लागि अग्रहरी दम्पतीले उक्त रकम रेडक्रसलाई हस्तान्तरण गर्नुभएको हो । अग्रहरी दम्पती लामो समयदेखि रेडक्रसको माध्यमबाट सामाजिक र मानवीय सेवामा सक्रिय रहँदै आउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !