८ मंसिर २०८१, शनिबार

आश्रमबाट घर फर्कदा …


मुम्बईमा बेच्न लैजाँदै गरेका बालिकालाई

बागलुङ । ‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा माग्नुभयो, निर्मला दासले हात हल्लाइरहनुभयो ।

यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन वर्षअघि छोडेको घरआँगन टेक्दै हुनुहुन्थ्यो । ३२ वर्षीया दास शुक्रबारे हटियामा रहेको घरमा पुग्दा दाइ घरमै हुनुहुन्थ्यो, आमा काममा । हराएकी बैनी टुप्लुक्क घरमा आइपुग्दा विनोद रामका आँखा खुसीले टिल्पिलाए । गुमेको खुसी भेटिएझैँ भयो । छरछिमेकी पनि दङ्ग परे । धेरैतिर खोजी गर्दा पनि दास नभेटिएपछि परिवारजनले आश मार्न थालिसकेका थिए ।“आमा काममा जानुभएको रहेछ, निर्मला दिदीलाई उहाँको दाइलाई जिम्मा लगायौँ, घरमा माया र सुसारसहित राख्छौँ भन्नुभएको छ,” अभियन्ता लामाले भन्नुभयो ।

सडक हुँदै आश्रममा आउनुभएकी दासलाई पारिवारिक पुनर्मिलन गराउन अभियन्ता लामा आफँै विराटनगर पुग्नुभएको थियो । विसं २०७५ माघमा कास्की, लेखनाथबाट उद्धार गरिनुभएकी दास यहाँस्थित आश्रममा हुनुहुनुहुन्थ्यो ।

मानसिक विक्षिप्तता लिएर सडकमा अलपत्र पर्नुभएकी दासको आश्रममै नियमित उपचारसमेत हुँदै आइरहेको थियो । बीचमा उहाँलाई पायल्सको पनि समस्या देखिएको आश्रमकी संयोजक लामाले बताउनुभयो । “आश्रममै छँदा उहाँले आफू घर जान चाहेको कुरा बताउनुभयो, घरको ठेगाना पनि भन्नुभयो, त्यसपछि सोधखोज ग¥यौँ,” संयोजक लामाले भन्नुभयो, “सबैभन्दा ठूलो कुरा दिदीलाई पारिवारिक पुनर्मिलन गराउन सक्यौँ, हामी यसमै खुसी छौँ ।”आश्रमको पहिलो उद्देश्य सडकमा अलपत्र र सहाराविहीनको पारिवारिक पुनर्मिलन गराउनु नै हुन्छ । बस्तीमा भएको बाढीको घटनापछि परिवार विस्थापनमा परेका बेला दास हराउन पुगेको आश्रमले जनाएको छ ।

बागलुङ नगरपालिका–३ मूलपानीका नगेन्द्र पन्त पनि हराएको १५ वर्षपछि गत वर्ष घर फर्कनुभयो । उहाँको पारिवारिक पुनर्मिलन पनि मानवसेवा आश्रमकै कारण सम्भव बनेको हो । विसं २०६२ मा रोजगारीका लागि मलेसिया जानुभएका पन्त त्यहाँ पुगेको एक वर्षपछि सम्पर्कविहीन हुनुभएको थियो ।

दुई वर्षअघि मलेसियाबाट फर्केपछि काठमाडौँको सडकमा अलपत्र पर्नुभएका पन्तलाई आश्रमले नै उद्धार गरी यहाँ ल्याएको थियो । आश्रमको बागलुङ शाखामा पाँच महिना बसेपछि बल्ल उहाँले आफ्नो घर मूलपानी भएको बताउनुभएको थियो ।

अफ्ठेरोमा सहारा मात्र दिएन वर्षौंसम्म बेखबर पन्तको पारिवारिक पुनर्मिलनमा पनि आश्रम नै माध्यम बन्यो । त्यसरी बिर्सिइसकेका र माया मारेका स्वजन अचानक घर फर्कंदा मिल्ने खुसीको वर्णन त तिनै परिवार तथा आफन्तले मात्र गर्न सक्छन् ।

“पारिवारिक पुनर्मिलनका लागि पुग्दा कतिपय घरमा त माहोल नै भावपूर्ण हुन्छ, सबैजना खुसीले विभोर हुनुहुन्छ, कसैले सामान्य रुपमा पनि लिनुहुन्छ,” संयोजक लामाले भन्नुभयो, “हामी अभियन्ताका लागि त त्यो नै सबभन्दा सुखद क्षण हो ।”

विसं २०७२ मा यहाँ खुलेको आश्रमले अहिलेसम्म १६ जना सडक आश्रितलाई पारिवारिक पुनर्मिलन गराएको छ । त्यसरी पुनर्मिलन हुनेमा भारतीय नागरिकसमेत छन् ।

‘हाम्रो चाहना ः सबैका लागि खाना, नाना र छाना’ को आदर्श वाक्यसहित मानवता प्रवद्र्धन महाअभियानमा सक्रिय रहेको आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । आश्रमले बेसहारा, अशक्त, असहाय र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ ।

आश्रमको शाखा यहाँ आएपछि हालसम्म एक सय १९ जनाको उद्धार गरिएको छ । दशजनाले आश्रममै ज्यान गुमाएका छन् । आश्रममा पाएको उपचार र स्याहारसुसारपछि पूर्ण रुपमा स्वस्थ भई नौजना आफँै घर फर्केका छन् । अहिले ४८ जना आश्रित छन् । केही दिनअघि बङ्गलादेशी महिलालाई उद्धार गरिएको थियो ।

बागलुङलाई पनि ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला’ घोषणा गर्ने आश्रमको तयारी छ । सरकारी निकाय र दाताहरुको सहयोगमा आश्रमको आफ्नै भवन निर्माणाधीन छ ।

बागलुङ –४ निरयघाटमा रु दश करोडको लागतमा आश्रम बनाउन लागिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताउनुभयो । आश्रम निर्माणमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समेत लगानी छ । बागलुङ नगरपालिकाले आश्रमको अभिभावकत्व लिएको छ । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्ने जनाइएको छ । ठाउँ अभावले गर्दा अहिले भएको संरचनाबाट धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । नियमित आर्थिक स्रोत नहुँदा व्यवस्थापकीय काममा कठिनाइ उत्पन्न हुने गरेको छ । आश्रमको दैनिक खर्चपर्च स्वयंसेवी दाताको भरमा चलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !