१२ पुस २०८१, शुक्रबार

दशरथचन्दमा दुई दिन सार्वजनिक बिदा


दशरथचन्द नगरपालिका

बैतडी । दशरथचन्द नगरपालिकाले चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिका–२, देहिमाडौँस्थित निङ्गलाशैनी भगवती मन्दिरमा यही असोज ३ र ४ गते लाग्ने मेलाका लागि बिदा दिने निर्णय गरेको हो ।

असोज ३ र ४ गते नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय र गैर सरकारी संस्थामा बिदा दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । निङ्गलाशैनी मन्दिरमा हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीमा मेला शुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुन्छ । मेलामा मन्दिरको भण्डार प्रदर्शन गर्ने चलन छ । सो जात्रामा बलि दिने चलन नरहेको मन्दिरका मुखिया मानबहादुर बोहराले बताउनुभयो ।

जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् । यहाँ वर्षमा चार पटक भव्य मेला लाग्छ । असोज र चैतको अष्टमीमा अष्टमी मेला, मङ्सिर शुक्ल पूर्णिमामा जमानी मेला र भाद्र शुक्ल चतुर्दशीमा मेला लाग्छ । असोज र चैतको अष्टमीको जात्रामा बलि दिइने भए पनि जमानी जात्रा र अनन्त चर्तुदशीमा भने बलि दिने चलन छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !