७ मंसिर २०८१, शुक्रबार

पुल भत्कियो


पुल भत्कियो

गण्डकी । केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ ।

मालेपाटनतर्फको पुलको जग आज बिहान १०ः३० बजे भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन ।

गत वर्षदेखि नै जोखिममा परेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा यस वर्ष गत असार ३ गतेको बाढीले क्षति पु¥याएको र त्यसयता दिनानुदिन क्षति बढ्दै सेराबेँसी युवा क्लबका पूर्वअध्यक्ष एवं सेराबेँसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेले बताउनुभयो । पुल भत्केसँगै आजदेखि कास्कीको मालेपाटनसहितका स्थलका साथै तनहुँको सेराबेँसी लगायतका स्थलका सर्वसाधारणको आवतजावत नै बन्द भएको बताउँदै उहाँले तत्काल अन्य वैकल्पिक व्यवस्थापनका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ एक सय १९ मिटर छ । कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गर्दै जाँदा अन्ततः संरक्षणकै अभावमा भत्कने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ ।

कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायत स्थानका बासिन्दाका लागि पुल बरदान साबित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !