७ मंसिर २०८१, शुक्रबार

पूर्वी नवलपरासीमा बाढीपहिरोको असर : १ जना घाईते ३ जना बेपत्ता, दर्जनौ स्थानमा क्षति


पूर्वी नवलपरासीमा बाढीपहिरोको असर

नवलपुर । नवलपुरमा बाढ़ीले घर भत्किंदा १ जना गम्भीर घाईते भएका छन् भने ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले दिएको जानकारी अनुसार जिल्लाको हुप्सेकोट गाउँपालिका ४ चारघरेका ५० बर्षीय हस्त बहादुर पुलामीको घरमा पूर्ण क्षति हुँदा पुलामी गम्भीर घाईते भएका छन भने सोही परिवारका अन्य ३ जना बेपत्ता छन् ।

उनकी श्रीमती ४० बर्षीया धनमाया पुलामी र नातिनीहरु ७ बर्षीया भूमि सरा पुलामी र ६ बर्षीया देउमाया पुलामी बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय नवलपुर र शसस्त्र प्रहरी बलबाट खटिएको टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको छ भने घाईतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

त्यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोर्सतीमा रहेको झलुङ्गे पुललाई स्थानीय पत्थर खोलामा आएको बाढीले बगाईदिएको छ । सो स्थानमा २ बर्ष पहिला निर्माण गरिएको झलुङ्गे पुल शुक्रबार बिहान आएको बाढीले बगाईदिएको हो ।

संघीय सरकारको आर्थिक सहयोगमा ४२ लाखमा निर्माण गरिएको सो झलुङ्गे पुल २ बर्ष पहिला निर्माण कार्य सकिएको थियो । हिमालयन सामुदायिक विकास मन्चमार्फत संघीय सरकारको बजेटबाट सो पुल निर्माण भएको हो ।

झलुङ्गे पुल निर्माण भए संगै स्थानियहरु लाई घाँस दाउरा गर्न नजिकैको जंगल क्षेत्रमा आवत जावत गर्न , डण्डा बजार आवत जावत सगै पुर्व पश्चिम राजमागर्मा जान समेत सहज भएको थियो ।

स्थानीय उमादेवी ढकालका अनुसार झलुङ्गे पुलको तल सिंचाईको लागी बाँध बाध्दा पानीको बहाव रोकीन गई पुल बगाएको हो । ढकालका अनुसार सिंचाईको लागी पक्की ढलान गर्दा पानीको बहाव रोकिएकाले नजिकैको गाँउमा समेत बाढी पसेको छ । बाढीले कावासोती नगरपालिका वडा नं. १७ मा रहेको त्रिभुवन बाल माविको मन्टेश्वरी कक्षा संचालन गरीएको भवनमा क्षती पुगेको छ ।

। यसैवीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा गए राति देखि आएको अविरल बर्षाका कारण ठाउँ ठाउँमा असर परेको छ । यस अघि असार २३ गते राति आएको बाढ़ीले असर पारेका सबै क्षेत्रमा अहिले झनै असर परेको छ । झ्यालबास गुहेंरी जाने बाटोमा गिरुवाऱी खोलाले बेलहानी तर्फ करीब ५० मीटर चौडाईमा झण्डै डेड किलोमीटर तार जाली बाधेको डिम बगाएको छ ।

साथै अन्दाजी १ बिगाहा धान लगाएको क्षेत्र समेत बगाएको हुप्सेकोट ३ का वडा अध्यक्ष छबिलाल मिधुनले जानकारी दिनुभयो । त्यस्तै हुप्सेकोट २ गुहेरीमा समेत भोटीखोलाले असर पारेको छ । धन बहादुर सोमै, खेमन सिंह सोती, जीत बहादुर दर्लामी, गेस बहादुर सोती, कुमार शाही, डील प्रसाद रिलामीको करीब ४ बिगाहा जमिनमा लगाएको धान बगाएको हुप्सेकोट २ का वडा सदस्य जगर सिंह गेलाङले जानकारी दिए ।

देउराली हुप्सेकोट सहरी खानेपानी संस्थाको पाईप बगाए पछि अहिले खानेपानी अवरुद्ध भएको संस्थाका अध्यक्ष मेक बहादुर पुलामीले जानकारी दिए । त्यस्तै हुप्सेकोट ३ जुल्पेटार जामुने चोकमा निर्माणाधीन चोरमारा झ्यालबास सडक खण्ड भत्किएको स्थानीय प्रेम प्रसाद पोखरेलले बताए ।

यसैबीच मध्यविन्दु को १५ तल्लो भिउराहन अहिले अलग ठाऊं जस्तै भएको छ । भिउराहन अरुणखोला सडक खण्डमा पहिरो खसेपछि आवतजावत नै ठप्प भएको छ । एकातिर प्रसौनीको खोला र अर्कोतिर पहिरोले बाटो नै बन्द गरेपछि अहिले तल्लो भिउराहन अलग्गै जस्तो बनेको छ । दैनिक कार्यलाई समेत गाउँबाट बाहिर निस्कन नमिलेको स्थानीय तिलकराम देवकोटाले जानकारी दिए ।

पूर्वी नवलपरासीमा बाढीपहिरोको असर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !