२६ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३१ जना घाइते, २ जनाको मृत्यु


सिन्धुपाल्चोकमा बस दुर्घटना

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा आज बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । सुनकोसीको ठोकर्पाबाट काठमाडौंको लागि हिडेको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी-३ थापागाउँमा बिहान लगभग सवा ११ बजेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक स्रोतले बताएको छ ।

बस दुर्घटना हुँदा ३१ जना घाइेतको उद्धार गरिएको र गाडीले थिचिएको अवस्थामा रहेका २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तर मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरी र स्थानीयवासीले बसलाई स्काईभेटर लगाएर माथि लान्ने प्रयास जारी रहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ भने ६ जनालाई सिन्धुपाल्चोककै खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पतालमा लगिएको छ ।

प्रहरी र स्थानीयवासीले समयमै घाइतेको उद्धार गरेकोले घाइतेलाई अस्पताल पठाउन सकिएको हो । बसमा ४० जना जति यात्रु रहेको घाइतेले बताएका छन् । ब्रेक फेल भएर बस पल्टिएको घाइतेले जानकारी दिएका छन् । बस सडकवाट अन्दाजी ७ मिटर तल खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !