काभ्रेपलाञ्चोक । पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले विसं २०७५ चैत २९ गते काभ्रेपलाञ्चोकमा घर रेट्रोफिटिङ (प्रबलीकरण) अभियानको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
उहाँले नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरास्थित छत्रबहादुर परिवारको विसं २०७२ को बिनाशकारी भूकम्पबाट आंशिक क्षति पु¥याएको दुईतले कच्ची घरको रेट्रोफिटिङ तीन महिनापछि सकियो ।
भूकम्पले घर चर्किएको करिब चार वर्षपछि सुरु गरिएको रेट्रोफिटिङ अभियानअन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका प्रतिनिधिको उपस्थितिमा घरधनीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त घरको रेट्रोफिटिङ पनि बेलायती अन्तरर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)को आर्थिक सहयोगमा विल्ड चेन्ज र युएन ओप्स नामक गैरसरकारी संस्थाले नमूना स्वरुप निर्माण गरेका थिए । उक्त घर रेट्रोफिटिङ गर्न सरकारको रु एक लाख अनुदानबाहेक थप तीन लाख खर्च भएको थियो ।
परियारको घर ‘ज्ञानकेन्द्र’का रूपमा स्थापित भएको उल्लेख गर्दै रेट्रोफिटिङप्रति लाभग्राहीलाई प्राधिकरण आफैँले चेतनशील बनाउनु आवश्यक रहेको बताइएको थियो । प्राधिकरणले थोरै रकममा क्षति पुगेको घरलाई भूकम्प प्रविधियुक्त मजबुत् बनाउन रेट्रोफिटिङ गर्न सकिने र यसबाट मौलिकता जोगाउन यस्तो प्रविधि प्रयोग गरिएको जनाएको थियो ।
तत्कालीन अवस्थामा नेपालका इञ्जीनियरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिला हुन गएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताउनुभएको थियो ।
काभ्रेमा छ वर्षका अवधिमा तीन हजार ८२७ रेट्रोफिटिङ लाभग्राहीमा सूचीकृतमध्ये जम्मा ४३ मात्रै घर रेट्रोफिटिङ भएको प्राधिकरणको काभ्रे जिल्लास्थित आयोजना कार्यान्वन एकाइ, स्थानीय पूर्वाधार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आंशिक लाभग्राहीमा सूचीकृतलाई रु एक लाख दिने प्राधिकरणको नीति छ । कार्यालय प्रमुख रामप्रसाद खुवाजूका अनुसार जिल्लाका ६८ हजार ७८३ भूकम्पपीडितमध्ये आंशिक लाभग्राहीमा सूचीकृत पाँच हजार ६२५ थिए । यसमध्ये तीन हजार ८२७ ले मात्रै सम्झौता गरेका छन् ।
“सम्झौता गरी पहिलो किस्ता रु ५० हजार लैजानेमध्ये पनि ४३ मात्रैले घर प्रबलीकरण गरेका छन्” ख्वाजूले भन्नुभयो । उहाँका अनुसार करिब दुई हजारले पूर्ण लाभग्राहीमा जान जिल्लास्थित कार्यालयमा निवेदन दिएका छन् ।
नमोबुद्ध नगरपालिका–७ रातमाटेका राजु खनालले भत्किएको आफ्नो कच्ची घरको रेट्रोफिटिङ (प्रबलीकरण) गर्न चाहानुभएन । उहाँको घर भूकम्पले पूर्णरूपमा भत्काइदिएपछि उक्त घरलाई पुनःनिर्माणका प्रविधिकले प्रबलीकरणमा सूचीकृत गरिदिएका थिए ।
घर नै नभएपछि रेट्रोफिटिङ कहाँ गर्ने भन्ने विषय नै ‘अनौठो’ लागेको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, “ठडिएको घर छैन, यस्तो घर आंशिक अर्थात् रेट्रोफिटिङमा कसरी पर्छ !” उहाँ प्राधिकरणको आंशिक अनुदान नलिने पक्षमा हुनुहुन्छ ।
अर्का पीडित सोही नमोबुद्ध –४ काफ्लेथोकका सूर्यबहादुर कार्कीको कच्ची घर भूकम्पले चिराचिरा बनाई ढल्ने अवस्थामा पु¥याइएपछि प्राविधिकले नै रेट्रोफिटिङ गर्न नसकिने जनाउँदा पूर्ण लाभग्राहीमा जान चाहेको बताउनुभयो । उहाँले पूर्ण लाभग्राहीमा सूचीकृत हुन नपा कार्यालयमा निवेदन दिनुभएको छ ।
यस्तै ८ नम्बर वडा हुमागाईँथोकका रामहरि हुमागाईँ पनि रेट्रोफिटिङको पक्षमा हुनुहुन्न । छिमेकीको चर्केको घर पूर्ण क्षतिमा र आफ्नो घर आंशिकमा सूचीकृत गरेपछि हुमागाईँले बरु अनुदान नचाहिने बताउनुभयो ।
उक्त गाउँमा आंशिक क्षतिमा सूचीकृत भूकम्पपीडित बरु भत्काएर दुईकोठे घर बनाउने तर रेट्रोफिटिङ नगर्ने बताउँदै आएका छन् । यस नगरमा आंशिक क्षतिमा सूचीकृत ७०१ परिवारमध्ये ३४० जना घर रेट्रोफिटिङ गर्न चाहेका छैनन् । नगरस्थित पुनःनिर्माण शाखाका अनुसार वडागत ‘सर्भे’मा यस्तो तथ्याङ्क पाइएको जनायो ।
वडा नम्वर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले पनि आफ्नो वडाका आंशिक क्षतिमा सूचीकृत ८३ मध्ये ७३ रेट्रोफिटिङको विपक्षमा रहेको जानकारी दिनुभयो । “स्थानीयवासी खर्च बढ्ने, झन्झटिलो र दक्ष कामदार नपाइने भएकाले रेट्रोफिटिङ गर्न नचाहेको बताउँछन्”, उहाँले भन्नुभयो ।
नगरप्रमुख टङ्कप्रसाद शर्मा आंशिक सूचीमा परेका अधिकांश पूर्ण लाभग्राहीमा जान चाहेको तथ्याङ्कले देखाएकाले प्राधिकरणको सहयोगमा रेट्रोफिटिङ प्रविधिबारे जानकारी गराई त्यसप्रति आकर्षित गर्न खोजिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घर रेट्रोफिटिङ गर्न हामी पीडितलाई बारम्बार सुझाव दिँदै आएका छौँ, तर त्यति चासो देखाएको भने पाइएन ।”
प्राधिकरणले आउँदो पुस मसान्तसम्म पुनःनिर्माणका काम सक्ने योजना बनाएर आवास अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका र सूचीकृत भएकालाई अन्तिम म्याद थपेको छ । “यस अवधिमा रेट्रोफिटिङ सक्न निकै गाह्रो छ”, उहाँले भन्नुभयो ।
बिल्ड चेन्ज नामक संस्थाका इञ्जीनियर अनिल बस्नेतले ‘स्टो«ङ ब्याक फिटिङ’ विधिबाट प्रबलीकरणको काम गरिने जानकारीदिनुभयो । उहाँका अनुसार यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर सुरुमा घरलाई बाहिरबाट बाँध्ने काम गरिन्छ, त्यसपछि जगमा डिपीसी गर्दै घरको भित्री भागबाट माथिसम्मै आवश्यकतानुसार पक्की पिलर बनाइन्छ र निदाल तथा दलिनलाई फलामले कस्ने काम गरिन्छ ।
प्राधिकरणकमा भूकम्पप्रभावित ३२ जिल्लामा करिब ६२ हजार आंशिक लाभग्राहीमा सूचीकृत भएका थिए । त्यतिबेला डिएफआइडीले सरकारसँग नेपालको भूकम्पप्रभावित जिल्लाका ५६२ स्थानीय तहमा एक हुने गरी करिब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमूना घर बनाउने सम्झौता गरेको थियो ।