१५ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा : के गर्न पाइन्छ र पाइदैन ?


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मंगलबार आदेश जारी गर्दै साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थपिएको बताएका छन् । पछिल्लो समय जारी निषेधाज्ञा भोलि २० गते बुधबार सकिँदैछ ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । आज मंगलबार मात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च रहेकोले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न चेतावनी दिएको छ ।

आज मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो ।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न कार्यक्रम भर्चुअलका माध्यमबाट गर्न भनिएको छ ।

मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष छ । थप गरिएको निषेधाज्ञामा शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइने छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

कोरोना संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले पिसिआर तथा एन्टिजेन परीक्षणको लागि स्थानीय तह, जिल्ला अस्पतालहरूसँग सम्पर्क गरी निशुल्क रूपमा परीक्षण गराउन प्रशासनले भनेको छ ।

स्वास्थ्यको मापदण्ड पूर्णपालना गर्न पनि अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ सङकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

जारी आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकूद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन नपाइने विगतको व्यवस्थालाई कायम राखिएको छ ।

यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोजभतेर आदि गर्न-गराउन नपाइने तथा नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ ।

अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।

यस्तो छ हेर्नुहोस् निषेधाज्ञाको आदेश

काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञाकाठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञाकाठमाडौं उपत्यकामा साउन २७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !