७ बैशाख २०८१, शुक्रबार

‘के म तपाईँलाई सहयोग गर्न सक्छु ?’


उच्च अदालत पोखरा

बागलुङ । कोरोना महामारीका कारण मुद्दा फछ्र्योट कम भएको छ । उच्च अदालत पोखरा, बागलुङ इजलासले चालु आवमा कोरानाकै कारण मुद्दा फछ्र्योटमा कमी आएको हो । गत आवबाट जिम्मेवारी सरी आएका १४९ सहित कूल ३५२ मुद्दा रहेकामा हालसम्म १७७ मात्र फछ्र्योट भएको अदालतका रजिष्ट्रार मोहन सुवेदीले जानकारी दिनुभयो । यो ५०.२९ प्रतिशत हो ।

सहज स्थितिमा अदालतले लक्ष्यभन्दा बढी मुद्दा पछर्योट गर्ने गरेको थियो । गत आवमा पनि महामारीकै कारण कम मुद्दा फछ्र्योट भएका थिए । सो आवमा ३१३ मुद्दा अदालतमा रहेकामा १६४ मात्र मुद्दाको किनारा लागेको थियो । लगातार दुई आवमा कोरोनाले मुद्दा छिन्ने प्रक्रियामा प्रभाव पारेको हो । आव २०७५÷७६ भने फछ्र्योट हुने मुद्दाको सङ्ख्या २८७ थियो । पचासी मुद्दा मात्र यसपछिका आवमा जिम्मेवारी सरेर आएका थिए ।

अदालतमा १७५ मुद्दा फछ्र्योट हुन बाँकी रहेको उहाँले बताउनुभयो । “असी प्रतिशतसम्म मुद्दा फछ्र्योट हुन्थ्यो, यस वर्ष कोरोनाका कारण ५० प्रतिशत मात्र हुन सक्यो”, उहाँले भन्नुभयो । बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समय अदालतको सेवा पनि प्रभावित बन्न पुगेको थियो । प्रतिकूल परिस्थितका कारण मुद्दा पछर्योट कम भए पनि अदालतमा दुई वर्षभन्दा बढी अवधिका मुद्दाको सङ्ख्या भने शून्य छ । छ महिनाभित्रका ७६, छदेखि एक वर्षभित्रका ४३, एक वर्षदेखि १८ महिनाभित्रका ३३ र १८ महिनादेखि दुई वर्षभित्रका २३ मुद्दा फछ्र्योट गर्न बाँकी छन् ।

मुख्य न्यायाधीश द्वारिकामान जोशीलेले न्याय सेवालाई छिटो र छरितो बनाउँदै लगिएको जानकारी दिनुभयो । अदालतप्रतिको परम्परागत धारणालाई चिर्ने गरी सेवाग्राहीमैत्री हिसाबले कार्य सम्पादन भइरहेको उहाँको भनाइ छ । “सेवाग्राहीमा यो मेरो अदालत हो भन्ने भावना जगाउनुपर्छ”, उहाँले भन्नुभयो । अदालतले सेवाग्राहीको सहजताका लागि छुट्टै सहयोगी कर्मचारीसमेत खटाएको छ । ‘के म तपाईँलाई सहयोग गर्न सक्छु ?’ व्यहोरा अङ्कित ज्याकेट पहिरिएका कर्मचारीले अदातलको सेवा प्रवाहमा सेवाग्राहीलाई सहजीकरण गर्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !