काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को संयुक्त बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो ।
बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय गर्ने बुझिएको छ । हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् ।
यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड-१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको छ ।
यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) लाई दिइएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउँछन् ।
सीसीएमसीमा आबद्ध एक उच्च अधिकारीका अनुसार मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना सङ्क्रमण घटाउने रणनीति हो । निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ ।
उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो, सवारी साधनमा जोरबिजोर लगायतका उपाय अवलम्बन गर्न सकिने अधिकारीहरू बताउँछन् ।
विशेषगरी ‘स्मार्ट लकडाउन’ काठमाडौँ उपत्यका लगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाहरूको सहरी क्षेत्रमा लागू गर्न सकिने देखिन्छ । होम डेलिभरी तथा अनलाइन सपिङ पनि स्मार्ट लकडाउनको महत्त्वपूर्ण पक्ष हो ।
जोर-बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिने जस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन । कोरोना संक्रमित घट्दै गएपनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ ।