२ जेष्ठ २०८१, बुधबार

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा हुन नसक्ने बस्नेतको दावी


महेश बस्नेत

१९ फागुन, काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतले भोलीसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले आइतबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी भइरहेको बताएका हुन् ।

एमालेमा मन्त्री बन्नका लागि आकांक्षीहरु धेरै भएकाले को मन्त्री बन्छ भन्ने अहिले टुङ्गो नलागेको उनले बताए । यद्यपी सहज रुपमा मन्त्रीको टुङ्गो लाग्ने उनको दाबी छ ।

मन्त्री छनौटको जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिइएको भन्दै उनले देश विकासका लागि उचित व्यक्तिलाई मन्त्री बनाउने विश्वास व्यक्त गरे ।
आफू भने मन्त्रीका लागि दौडधुपमा नलागेको बस्नेतले बताए । “चर्चामा मेरो नाम पनि छ । तर दौडमा छैन । मन्त्री बन्नका लागि धेरै दौडधुप र नेताको घरघरमा म धाएको छैन ।” बस्नेतले भने ।

आफूले अहिलेसम्म प्राप्त गरेको उपलब्धि नेताहरुको आशिर्वाद थोरै भएको तर आफ्नो भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ ।

आफूले मन्त्री बन्ने मौका पाए जिम्मेवारी पूरा गर्ने र नपाए पनि प्रधानमन्त्री ओलीलाई सहयोग गर्न आफू तयार रहेको भनाई छ । नेता बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोरिने सम्भावना बढि भएको बताए ।

भक्तपुरवाट प्रतिनिधीसभा सदस्यमा विजयी भएका बस्नेतले प्रदेश नम्बर तीनको राजधानी भक्तपुर बनाउनका लागि पहल भइरहेको बताए ।
अस्थायी राजधानी हेटौँडालाई स्थायी बनाउनु उचित नहुने उनको तर्क छ । मकवानपुरबाहेक अरु सबै जिल्लाका प्रदेश सासंदलाई हेटौँडा पायक नपर्ने उनको तर्क छ ।

अघिल्लो सरकारमा उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले हेटौँडालाई स्थायी राजधानी बनाउनका लागि एक्लै भए पनि लड्छु भनेको प्रसंगमा बस्नेतले नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले पनि भक्तपुरलाई राजधानी बनाउन नहुने तर्क गरेको आडमा हेटौँडालाई अस्थायी राजधानी बताइएको बताए ।

भक्तपुरको सानो ठिमी प्रदेश राजधानीका लागि उचित भएको बस्नेतको दाबी छ । भौतिक पूर्वाधार पर्याप्त भएकाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने भन्दै उनले हेटौँडावाट राजधानी फर्किने बताए ।

काभ्रेलाई पनि राजधानी बनाउन सकिने विकल्प अघि सार्दै बस्नेतले हेटौडा चाँही कुनै पनि हालतमा नहुने बताए ।
व्यवहारिक पक्षलाई हेर्दा धादिङ जिल्ला पनि राजधानीका लागि उचित हुन सक्ने बस्नेतको भनाई छ ।

मुख्यमन्त्री डोरमणि पौडेल हेटौँडाकै बासिन्दा भएकाले त्यहीँ राजधानी बनाउन चाहनु स्वभाविक भएको भन्दै बस्नेतले प्रदेशसभाले हेटौँडालाई राजधानी बनाउन दुई तिहाई बहुमत नदिने बताए ।-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !