काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठक कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई केहि परिमार्जन गरेर पारित गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको र त्यो नियन्त्रण बाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे तापनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको छ । त्यस्तै सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।