१९ असार २०८१, बुधबार

काठमाडौं उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी


काठमाडौँ उपत्यका

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । आज सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको हो ।

यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने पनि उनले बताए । उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि भएको छ । निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने पनि भएको छ । दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।

सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समय अवधिबारे परामर्श भएको थियो ।कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनीकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूवीच छलफल भएको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले ५०० भन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा गरेका हुन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५०० भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस हिजो गरेको छ । सीसीएमसीले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन् । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । सीसीएमसीको सिफारिसलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि मात्रै निषेधाज्ञा गर्ने निर्णय हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !