६ कार्तिक २०८१, मंगलबार

राहतको चामल गोदाममा कुहियो, पीडितले पाएनन्


rice

दुई बर्ष अगाडि किसानले लगाएको अन्नवाली घर भित्र्याउने बेला परेको असिनाले मुगुका आठ गाविसका सम्पूर्ण बालीमा क्षति पु¥याएको थियो । सरकारले तत्काल राहतका लागि भनेर चामल त पठायो तर ती चामल दुई बर्ष बिति सक्दा पनि बितरण नगरी गोदाममै थन्क्याएर राखिएपछि किसानहरु मारमा परेका छन् ।

०७१ कार्तिक ८ गते परेको असिनाले किसानहरुले लगाएको अन्नबाली नष्ट पारेपछि सरकारले तत्काल राहतका लागि भनेर मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेगका पाँच गाबिस, सदरमुकाम नजिकका दुई र सोरु भेगका एक गाविसका लागि ३ हजार १ सय ४ क्वीन्टल १० केजी चामल पठाएको थियो । तर ती मध्ये ५४ क्विन्टल चामल दुई बर्ष बितिसक्दा पनि कोटडाँडा गाविस वडा नम्बर एक देखि ४ सम्मका १ सय १५ घरधुरीलाई बितरण गरिनुपर्नेमा जुम्ला जिल्ला बिराट गाबिस स्थित गोठी ज्युलाको एक घरमा थन्काएर राखिएको छ ।

जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णयले राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरका नेता पुरु नेपालीलाई जिम्मा दिएको ती चामल १ सय १५ घरधुरीलाई बितरण नगरी ढुवानीको जिम्मा लिएका नेपाली र सेरी गाविसका जनक टमट्टा लगायतका अन्य ब्यक्तिको मिलेमतोमा दुई बर्ष सम्म गोदाममै थन्काएर राखिएको पाईएको छ । अन्य भेगका लागि छुट्याइएको चामल वितरण भइसकेको जिल्ला खाद्यान्न समितिले जनाएको छ । तर सुर्खेत देखि श्रीकोट डिपो सम्मका लागि प्रति केजी २५ रुपैयाँ दरले हुने ढुवानीको कुल १९ लाख ५० हजार रुपैयाँ खाद्य संस्थान सुर्खेत शाँखाबाट पुरु नेपालीले भुक्तानी लगि सके पनि हालसम्म वितरण नभएको खाद्य संस्थान सुर्खेतका प्रमुख भीम थापाले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले असिनाबाट पीडित गाविसको क्षतिपूर्ति मुल्याकंन अनुसार २ सय १९ क्विन्टल चामल राहतका रुपमा सरकारबाट प्राप्त भए पनि कोटडाँडा गाबिस रिखिया गाँउको ५४ क्विन्टल चामल दुई बर्ष देखि गोदाममा थन्किएको छ ।

राहतको खाद्यान्न हालसम्म असिना पीडितले नपाएको भन्ने गुनासो नआएको तथा चामल वितरण गरिएको विल भरपाई अनुसार खाद्यान्नको ढुवानी रकम दिई सकिएको जानकारी मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । लामो समय वितिसकेपनि चामलको बारेमा खासै खोजी नगरिनु भने आश्चर्यको विषय बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !