८ पुस २०८१, सोमबार

परकम्पकै बीच उद्धारमा जुटिरहे सुरक्षाकर्मी


गोर्खाको गुप्सीपाखामा स्थानान्तरण गरिएका भूकम्पपीडित लाप्राकवासीका टहरा

काठमाडौ, १२ वैशाख । विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीले गठन गरेको डिल्लीबजारस्थित विपद् व्यवस्थापन महाशाखाको भवन गत वैशाख १२ को भूकम्पपछि भग्नावशेषमा परिणत भयो ।

त्यसबेला महाशाखामा कार्यरत दुई प्रहरी सामान्य घाइते समेत भए । उद्धारमा खट्नुपर्ने निकाय आफैं घरबिहीन भयो । महाशाखालाई सामाखुसीमा सार्ने त्यस अघि नै तयारी भए पनि भूकम्पपछि सामाखुसीमा सारियो ।

संयोग नै भन्नुपर्छ एक महिनाअघि मात्रै महाशाखामा विपद् व्यवस्थापनका लागि आवश्यक केही उपकरण आइपुगे । तिनै उपकरण भूकम्प उद्धार कार्यमा निकै उपयोगी भए ।

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ठूले राई सीमित स्रोत र साधनकाबीच महाशाखाको टोलीलाई उद्धारमा खटाइएको बताए ।

सुरक्षा निकायले परकम्पकै बीचमा काम गरे । भत्किएका संरचनाभित्रै जीवित व्यक्ति रहेको आशङ्कामा सुरक्षाकर्मी जोखिम मोलेरै त्यस्ता संरचनाभित्र पस्थे ।

वरिष्ठ प्रहरी उपरीक्षक राईले त्यस बेलाको सम्झना गर्दै भने, ‘हाम्रो टोली उद्धारका लागि भत्किएका संरचनाभित्र पसेका हुन्थे । त्यति नै बेला परकम्पले हल्लाउन थालिहाल्थ्यो । धेरै नै हल्ल्ााए बाहिर निस्किन्थ्याैं । सानातिना आए काम गरिरहन्थ्यौं ।’

बर्दियाकी कृष्णुकमारी खड्कालाई एकसय २८ घण्टापछि जीवितै उद्धार गर्ने टोलीका प्रहरी विपद व्यवस्थापन महाशाखाकै थिए । भूकम्पमा सबै भन्दापछि जीवित्तै उद्धार गरिएको त्यो घटनामा नेपाल प्रहरीलाई इजरायल र पोल्यान्डबाट आएको उद्धार टोलीले सघाएको थियो ।

भूकम्पपछि भत्किएका घरभित्र परिवारको सदस्यको मृत्यु भएको थाहा हुँदा पनि कतिपय ठाउँमा परिवारका अन्य सदस्यले घरभित्रै आˆनो मान्छे ज्यूँदै रहेको भन्दै सुरक्षा निकायलाई गुहार्थे ।

सुरक्षा निकायलेे शवलाई निकाल्ने भन्दा जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकता दिएको थियो । मर्ने त मरिसके कोही ज्यूँदो छ भने उसको उद्धारलाई आफूहरूले पहिलो प्राथमिकता दिएको वरिष्ठ उपरीक्षक राईलेे स्मरण गरे ।

उनले भने, ‘मेरो मान्छे ज्यूँदै छ । भर्खरै एसएमएस आयो भनेर झूठ बोल्थे मानिसहरू । उनीहरू परिवारको सदस्यको शव नै भए पनि छिटो हेर्न पाउने आशामा त्यसो भनिरहेका हामीलाई थाहा हुन्थ्यो । किनकि उनीहरूले एसएमएस देखाउन सक्दैनथे ।’

माछापोखरी र गोङ्गबु क्षेत्रमा कतिपय भत्किएका घरमा जीउँदै मान्छे छन् भन्ने थाहा हुँदाहुँदै पनि उद्धार कार्य गर्न गाह्रो भएको अनुभव उनले स’नाए ।

उपरीक्षक राईले भने, ‘घर भत्किएको छ । त्यो घरमाथि अर्को घर आएर अडिएको छ । उद्धारका लागि ढलान काट्न सुरु गर्‍यो । त्यसको भाइबे्रसनले पूरै घर ढल्न खोज्थ्यो । अर्कोतर्फ परकम्प आइरहेको हुन्थ्यो ।’

उद्धारका क्रममा काम छिटो गरिदिन सुरक्षा निकायलाई चौतर्फी दबाब आउँथ्यो । महाशाखाका कतिपय प्रहरी भावनामा बगेर समेत काम गरेको आफूले देखेको राईले बताए । धेरै हल्लाइरहँदा पनि उनीहरू बाहिर निस्कँदैनथे कराएर बाहिर निस्कन भन्नुपथ्र्यो । महाशाखा टोलीले चाहँदाचाहँदै पनि गोङ्गबुस्थित बुटवल पाल्पा गेष्टहाउसमा रहेको तीन जनाको शव झिक्न सकेन । सो गेष्टहाउस सञ्चालकका श्रीमती, छोरी र एकजना कामदार त्यहाँ पुरिएका थिए ।

तल्लो तलालाई माथिका दुई तला आएर थिचेको थियो । त्यसैले जेे गर्दा पनि सुरक्षाका कारण त्यहाँ प्रहरी छिर्न सकेन । तीन महिनापछि त्यो घर भत्काएर शव निकालियो ।

बालाजुको माछापोखरीमा ढलेको लुम्बिनी गेष्टहाउस र ढल्केको लालीगुराँस गेष्टहाउस । उपत्यकामै सबैभन्दा बढी घरहरू यही क्षेत्रमा भत्काएको थियो । तस्बिरः नेपालपत्र
बालाजुको माछापोखरीमा ढलेको लुम्बिनी गेष्टहाउस र ढल्केको लालीगुराँस गेष्टहाउस । उपत्यकामै सबैभन्दा बढी घरहरू यही क्षेत्रमा भत्काएको थियो । तस्बिरः नेपालपत्र

उद्धारकार्यमा स्थानीयवासीबाट पनि उल्लेख्य सहयोग मिलेको अनुभव महाशाखा प्रमुख राईले सुनाए । कतिपय स्थानमा स्थानीयवासीले पहिले लिएको भूकम्पमा उद्धारसम्बन्धी आधारभूत तालिमबाट निकै सहयोग मिल्यो ।

त्यस्तै नगरपालिकामा काम गर्ने कर्मचारीको आधारभूत तालिमले समेत उद्धार कार्यमा सहयोग मिलेको थियो । गि्रल उद्योगमा काम गर्ने कतिपय मजदुरले आफूहरूसँग ढलान काट्ने सामाग्री रहेको तथा त्यससम्बन्धी अनुभवसमेत रहेको भन्दै प्रहरीलाई सहयोग गर्न आएको घटनाबाट आफू निकै प्रभावित भएको अनुभव राईले सुनाए ।

नेपाल प्रहरीले विसं २०६८ मा मात्रै विपद् व्यवस्थापन महाशाखा गठन गरेको थियो । भूकम्पपछि नेपाल प्रहरीले विपद् व्यवस्थापनका लागि जनशक्ति थप्दै लगेको छ । महाशाखामा त्यसबेला चारसय ४६ दरबन्दी भएपनि जम्मा १७२ जना मात्रै कार्यरत थिए । ती पनि सबै काजमा ल्याइएका थिए ।

भूकम्पअघि ४०० मात्रै रहेको दरबन्दी अहिले बढाएर एक हजार पुर्‍याइएको छ । यसमध्ये पाँचै विकास क्षेत्रमा एकसय २५ जनाका दरले ६२५ जना र बाँकी उपत्यकाको महाशाखामा रहनेछन् । दरबन्दीमध्ये अहिले आधा पूर्ति गरिएको छ भने आधा पदपूर्तिको प्रक्रिया जारी छ ।

पर्याप्त तयारी भएन

नेपाल भूकम्पको अति जोखिममा रहेको थाहा हुँदाहुँदै पनि पर्याप्त तयारी नगरेकै कारण उद्धार तथा राहतमा समस्या पर्‍यो । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि थालिएको उद्धार प्रयास आवश्यक उपकरण र तालिम प्राप्त जनशक्तिको अभावमा सोचेजस्तो हुन नसकी धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको सुरक्षा निकायको विश्लेषण छ ।

भूकम्पको नौ दिनपछि पनि नागरिकको जीवितै उद्धार भएका घटनाले यथोचित मात्रामा उद्धार व्यवस्थापनको योजना बनाउन सकेको भए अन्य धेरै व्यक्तिको जीवितै उद्धार हुनसक्थ्यो भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

भूकम्प लगत्तै आवश्यक मात्रामा हेलिकप्टर र उद्धार सामग्री उपलब्ध भएको भए थप सयौं व्यक्तिको जीवितै उद्धार गर्न सकिने सुरक्षा निकायको विश्लेषण छ ।

सेना र प्रहरी गरी दुई लाखको हाराहारीमा सुरक्षाकर्मी रहे पनि विपद् व्यवस्थापन र उद्धारसम्बन्धी पूर्ण तालिम प्राप्त जनशक्ति न्यून छ ।

उद्धारका अत्याधुनिक उपकरण त परको कुरा, साधारण उपकरण पनि पर्याप्त मात्रामा सुरक्षाकर्मीसँग थिएनन् । डोजर, क्रेन, ट्रकजस्ता सामग्रीको लागि पनि निजी क्षेत्रको भर पर्नुपर्‍यो ।

विदेशी उद्धार टोलीले मानिस जीवित रहे/नरहेको पत्ता लगाउने एक्सरे, पाइपजस्ता अत्याधुनिक उपकरण प्रयोग गरिरहँदा नेपाली सुरक्षा निकाय भने सूचना र अनुमानको भरमा काम गर्न बाध्य थिए । बेल्चा, काैंची, डोरी, कम्बल, आरी, पत्ति, जेनेरेटर, ढलान काट्ने पत्ती जस्ता पुराना प्रविधिको प्रयोगमा मात्रै नेपाली सुरक्षा निकाय निर्भर रह्यो । उपकरणसहितको गाडी ‘डिजास्टर भ्यान’ नेपाली सुरक्षाकर्मीसँग छैन ।

भूकम्पपछि भने अहिले सुरक्षा निकायले ठूलो मात्रामा त्यस्ता सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको छ । भूकम्पमा आफैं घरबारविहीन भई पालको सहारामा रहेका सुरक्षाकर्मीले उद्धारमा देखाएको सक्रियताको चौतर्फी प्रशंसा भयो ।

उद्धारमा देखिएको कठिनाइपछि विपद् व्यवस्थापन मन्त्रालय गठन गर्नेदेखि विपद् व्यवस्थापनको छुट्टै सुरक्षा फौज बनाउनुपर्नेसम्मका बहस चाहिँ अहिले सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !