२५ बैशाख २०८१, मंगलबार

अख्तियारद्वारा दीक्षित: पक्राउ पुर्जी एस्तो छ


kanak

वैशाख १०, २०७३- अनुसन्धानमा असहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमाल खबर पत्रिकाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई शुक्रबार पक्राउ गरेको छ ।

अख्तियारको निर्देशनमा ललितपुर प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पाटनढोकाबाट नियन्त्रणमा लिएको हो । दीक्षित हिमाल मिडियाका प्रकाशकसमेत हुन् ।

अख्तियारले ‘कानुनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्‍याएको’ भन्दै दीक्षितलाई पक्राउ गरेको जनाएको छ । अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले अनुसन्धानका क्रममा केही विवरणबारे स्पष्ट पार्नका लागि आयोगमा बोलाउँदा असहयोग गरेकाले ऐनले दिएको अधिकार प्रयोग गरेको बताए । ‘अनुसन्धान अधिकृतले १० पटकभन्दा बढी फोन गरेर बोलाउनुभए छ, तीन पटक त लिखित पत्र नै गयो,’ पुष्करले भने, ‘पटक–पटक आग्रह गर्दा पनि अनुसन्धानमा सहयोग नगरेकाले आयोगले उहाँलाई पक्राउ गरेको हो ।’

शुक्रबार पक्राउ परेका दीक्षित बीचमा शनिबार परेकाले कम्तीमा पनि आइतबारसम्म हिरासतमा रहनेछन् । त्यसपछि उनलाई मुद्दा हेर्ने विशेष अदालतमा पेस गर्नुपर्नेछ । अदालतको स्वीकृतिमा अख्तियारले उनलाई थप थुनामा राख्न सक्नेछ । पक्राउ परेपछि छानबिनमा परेको व्यक्तिले अनुसन्धानमा पुर्‍याउने सहयोगका आधारमा अनुसन्धान अधिकृतले थुनाबारे निर्णय गर्ने प्रवक्ता पुष्करले बताए । उनलाई पक्राउ गरेपछि वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरेर गौशाला प्रहरी वृत्तमा राखिएको छ ।

दीक्षितलाई भेट्न गौशाला प्रहरी वृत्तमा पुगेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई प्रहरीले भेट्न दिएन । ‘अख्तियारको आदेश भन्दै प्रहरीले मलाई उहाँसित भेट गर्न दिएनन्,’ थापाले भने । शाही शासनकालमा पक्राउ गरिएका व्यक्तिलाई यसरी नै कानुन व्यवसायीसित भेट गर्न दिइँदैनथ्यो ।

प्रहरी स्रोतका अनुसार दीक्षितलाई गौशाला वृत्तमा सामान्य कैदीसरह राखिएको छ ।

साझा अध्यक्ष एवं पत्रकार दीक्षितले भने अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले पूर्वाग्रही भएर आफूलाई पक्राउ गरेको प्रतिक्रिया दिए । ‘नियुक्ति हुँदाको बखतदेखि नै अख्तियारका प्रमुख आयुक्तको विरोधमा मैले अभिव्यक्ति दिएकाले पूर्वाग्रही भएर पक्राउ गरेको हो,’ दीक्षितले भने । शाही शासनकालमा पनि आफूले संघर्ष गरेको उल्लेख गर्दै उनले अब पनि कानुनी संघर्ष जारी राख्ने बताए ।

केही महिनाअघि अख्तियारले दीक्षितसहित २९ जना सार्वजनिक पदमा रहेका व्यक्तिको बैंक लकर रोक्का राखेर छानबिन थालेको थियो । त्यसविरुद्ध दीक्षित रिट लिएर सर्वोच्च अदालत गएका थिए । रिटमाथिको आदेश जारी गर्ने क्रममा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले आयोगको निर्णयबिना पदाधिकारी, शाखा वा महाशाखाले गरेको कामलाई कानुनबमोजिम आयोगको निर्णय मान्न नसकिने भनी आदेश गरेको थियो । तर दीक्षितले आयोगमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरेको देखिएको भन्दै अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो ।

यसबीचमा अख्तियारले गत वैशाख २ गते फेरि दीक्षितलाई पत्र काटेको थियो । आफूलाई गैरकानुनी रूपमा पत्र काटिएको भन्दै दीक्षितले उपस्थित हुन अस्वीकार गरेको पत्र आयोगमा दर्ता गरेका थिए । गत बुधबार पत्र दर्ता भएको थियो । त्यसको दुई दिनपछि आयोगले अनुसन्धानमा असहयोग गरेको भन्दै पक्राउ गरेको हो ।
kanakmani-letter-aktiyar-letter

दीक्षितले पदको दुरुपयोग गरी स्वदेशी तथा विदेशी बैंकमा रकम जम्मा गरेको, संस्थाको सम्पत्ति व्यक्तिगतसरह बिक्री गरेको, विदेशमा अचल सम्पत्तिसमेत जोडेको, संस्थाको सम्पत्ति परिवारका नाममा राखेको भनी परेको उजुरीको विवरण अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । दीक्षितले अख्तियारमा बुझाएको सम्पत्ति विवरण र आयोगले आफ्नो अनुसन्धानबाट पाएको सूचना विश्लेषण गर्दा ज्यादै फरक देखिएकाले बुझ्न बोलाएको प्रवक्ता पुष्करले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !