७ बैशाख २०८१, शुक्रबार

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षक


indian-currency

शाख ८, २०७३- नेपाल-भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी-प्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।

दिल्ली/आग्राको एक साता लामो शैक्षिक/धार्मिक भ्रमण पूरा गरेर गत चैत २९ (अपि्रल ११) मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका यात्रु शिक्षकले नजिकैको नौतनवा बजारमा उपहार किनमेल गरेका थिए । चितवन नगरपालिका-१२, दिव्यनगरस्थित युवा माध्यमिक विद्यालयका शिक्षकहरु जीवाखर ढकाल, अम्बिकाप्रसाद घिमिरे, कृष्णचन्द्र सापकोटा, अच्युत घिमिरे -कर्मचारी) र शिवभक्त पण्डित -निवृत्त शिक्षक) नक्कली नोटको परिबन्दमा परेर कानुनी कारबाहीमा परेका हुन् । शैक्षिक भ्रमणमा भने शिक्षक, कर्मचारी तथा तिनका परिवार गरेर २८ जना भारत आएका थिए । नक्कली रुपैयाँ साथमा भेटिएका पाँचबाहेक अरू सबै यात्रु चितवन घर पुगिसकेका छन् ।
थुना पर्नेमध्येका एक आफन्त हाल साउथ एसिया युनिभर्सिटीमा अध्यापनरत युवराज पोखरेलका अनुसार पाँचैजनालाई एक सातायता कानुनी कारबाहीका क्रममा नौतनवा प्रहरीचौकी हँुदै अहिले महाराजगन्ज जिल्ला अदालतमा लगिएको छ । चितवन छँदै स्थानीय एजेन्टमार्फत् साटेको भारतीय पैसामध्ये चार हजार रुपैयाँ नक्कली भेटिएको र त्यही प्रमाणका आधारमा प्रहरीले कारबाही अघि बढाएको आफूले ढिलो गरी जानकारी पाएको पोखरेलले बताए । यो घटनाबारे पोखरेलले नेपाली दूतावासलाई जानकारी गराइसकेका छन् ।
चैत २३ देखि एक साता लामो बिदा लिएर शैक्षिक भ्रमणमा निस्किएका शिक्षकलाई चितवनकी आरती चौधरी, काठमाडौंका भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठले भारु रकम सटही गरिदिएको सूचना नेपाल प्रहरीले पाएको छ । सटही गर्नेमध्ये दुईलाई नेपाल प्रहरीले चितवनमा पक्राउ गरेर केरकार अघि बढाइसकेको स्थितिमा ‘कारबाहीको परिबन्दमा परेका पाँच शिक्षकलाई थुनामुक्त गराउन’ परराष्ट्र मन्त्रालय -काठमाडौं) ले भारतीय दूतावासमार्फत् अनुरोध गरिसकेको जानकारी पोखरेलले दिए । अनाहकमा थुनामा परेका शिक्षकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावासलाई पत्र लेखिसकेको र दूतावासले विदेश मन्त्रालयलाई उद्धारमा आवश्यक समन्वयका लागि अनुरोध गरिसकेको छ । दूतावासका काउन्सेलर एसएसपी यादव खनालले यो प्रकरणमा नेपालीको उद्धार तथा घरफिर्ती समन्वयका लागि दूतावासले कूटनीतिक पहल थालिसकेको जानकारी दिए ।
भारतमा ‘नक्कली नोटको कारोबार’ सम्बन्धी मुद्दालाई गम्भीर रूपमा लिइने भएकाले अदालती प्रक्रिया पूरा भएपछि मात्रै थुनामा परेका शिक्षकको रिहा स्थिति स्पष्ट हुने देखिएको छ । उत्तर प्रदेशमा पर्ने नौतनवा सहर सीमावर्ती सुनौली-भैरवहा नाकाबाट सात किलोमिटरको दूरीमा पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !