७ मंसिर २०८१, शुक्रबार

बैतडीका दुर्गम बस्तीमा पुग्यो बिजुली


विद्युत् अवरुद्ध फाइल फोटो

बैतडी, १२ कात्तिक । जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत बिस्तार भइरहेको छ । पाटन नगरपालिका ९ भट्याडी गाउँमा पोल गाडेको सात वर्षपछि बिजुली बलेको छ । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् । विद्युत विस्तारका लागि पोल गाडिएका भएपनि विद्युत विस्तार नहुँदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य रहेका थिए ।

गाउँमा विद्युतीकरणका लागि आफूहरुले पहल गरेर विद्युत वितरण केन्द्र पाटन शाखाको सहयोगमा गाउँमा बिजुलीबत्ती बलेको स्थानीय कर्णबहादुर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँमा पोल गाडिएको धेरै वर्ष सम्म विद्युत नपुग्दा हामीले गाउँलेहरुसित सल्लाह गरेर श्रमदानमा विद्युत विस्तार गरेका छौँ । तार तान्ने, पोल गाड्ने लगायतका काममा स्थानीयले श्रमदान गरेपछि गाउँमा बिजुली बलेको हो ।” स्थानीयको ५० हजार बढीको श्रमदान र विद्युतका कर्मचारीको सहयोगमा विद्युत विस्तार भएपछि गाउँलेहरु खुसी भएका स्थानीय डम्मरसिंह भाटले बताउनुभयो ।

अहिले गाउँका २८ घरधुरीमा बिजुली बलेको छ । उहाँले भन्नुभयो, “गाउँमा बिजुली बलेपछि स्थानीयबासी निकै खुसी भएका छन् । करिब १२ घरमा विद्युत पुग्न बाँकी छ । त्यसका लागि पहल गरिरहेका छौँ ।” सडक नजिकैको भट्याडीमा विद्युत सेवा विस्तारपछि स्थानीयलाई सजिलो भएको दीपकसिंह भाटले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणले गाउँमा विद्युत विस्तार गर्ने कार्यक्रम अन्तर्गत अध्याँरा गाउँहरुमा विद्युत विस्तार गरिरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो ।

बैतडीको मेलौली नगरपालिका २ रौतगाउँ र कपडतमा विद्युत विस्तार गरिएको छ । प्राधिकरणको विद्युत विस्तार गर्ने रणनीति अनुसार गाउँगाउँमा विद्युत विस्तार जारी रहेको हो । ट्रान्सफर्मर चार्ज गरेर दुवै गाउँमा विद्युत बालिसकेको नेपाल प्राधिकरण वितरण केन्द्र बैतडीका सुपरभाईजर माधवप्रसाद लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ अब ग्राहकले मिटर जडान गरेमा सबै घरमा विद्युत लाइन जडान गरिनेछ । ”

यो आर्थिक वर्षमा पनि ग्रामीण क्षेत्रमा विद्युत विस्तार कार्यक्रम रहेको र सोही अनुसार ग्रामीण क्षेत्रमा विद्युुत विस्तार भईरहेको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा पनि १८ सय घरमा विद्युत विस्तार गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत सेवा विस्तार गरिएको हो ।

जिल्लाको सुर्नया गाउँपालिकाको शङ्करपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ । यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलाशैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिनुभयो ।

पोल गाडेको ३ वर्षपछि दोगडाकेदार गाउँपालिका ५ को दुर्गमबस्ती जिमकोटमा पहिलोपटक बिजुली बलेको छ । स्थानीय युवाको सक्रियताले तीन वर्षपछि जिमकोट अध्यारोमुक्त हुन सफल भएको हो । जिमकोटका केही ठाउँमा पोल गाडेको र गाड्न बाँकी ठाउँमा युवाहरु आफैंले पोल गाडेर बिजुली बाल्न सफल भएको स्थानीय भिमसिंह भाटले जानकारी दिनुभयो ।

स्थानीय युवाले चन्दा सङ्कलन गरी प्राविधिकको पारिश्रमिक जुटाउनका साथै आफैले पोल गाड्ने र तार तान्ने काम गरेको भाटको भनाइ छ । उहाँले भन्नुभयो, “ कोरोना कहरले घरमै रहेका युवाले श्रमदान र चन्दा सङ्कलन गरी गाउँमा बिजुली बाल्न सफल भएका छौं । ” जिमकोटबासीको बिजुली बलेको हेर्ने धोको तीन वर्षपछि पुरा भएको स्थानीय युवा हरिसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “ गाउँमा पहिलोपटक बिजुली बल्दा खुसीयाली छाएको छ, सबैजना खुसी भएका छन् । ”

कृषिमा आत्मनिर्भर बन्दै गएको जिमकोटमा बिजुली पुग्दा कृषि क्षेत्रमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । रातियमा आउने जङ्गली जनावरले तरकारी तथा अन्नबाली नष्ट पार्ने हुँदा बिजुली पुगेपछि सहज भएको उहाँले बताउनुभयो । जिमकोटमा ४० घर छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !