१० असार २०८१, सोमबार

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम शुरु


बाघ गणना

६ पुस, चितवन l चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन भागमा विभाजन गरेर मंसिर १४ गतेबाट पर्सा क्षेत्रबाट बाघ गणना सुरु गरिएको थियो। पहिलो खण्डमा चितवन राष्ट्रिय निकुञ्जको ठोरीको अमुवा भागबाहेक सबै पर्सा राष्ट्रिय निकुञ्जमा गणना गरिएको थियो।

बाघ गणनाका क्रममा पहिलो भाग पर्सा राष्ट्रिय निकुञ्ज, दोस्रो भाग पर्सा र चितवनको सीमा क्षेत्र हप्ताखोलादेखि टाइगर टप्ससम्म र तेस्रो खण्ड टाइगर टप्स पश्चिम भागमा विभाजन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले नेपालको सबैभन्दा बढी बाघ भएको क्षेत्रको गणना आजदेखि थालिएको बताए।

एउटा ब्लकमा करिब एक हजार दुई सय क्यामरा राखेर बाघ गणना गरिँदै आएको छ। आजदेखि थालिएको क्षेत्रमा निकुञ्जसँगै राष्ट्रिय वन र मध्यवर्ती क्षेत्र पनि रहेको छ।दुई वर्ग किलोमिटरमा एक ठाउँमा क्यामरा राखेर गणना गरिएको छ। १५ दिनसम्म एकै ठाउँमा क्यामरा राखिने उनले जानकारी दिए। एउटा ब्लकलाई १४ भागमा विभाजन गरेर क्यामरा राखिएको छ।

क्यामरामा कैद गरिएका फोटो हेरेर बाघको सङ्ख्या यकिन गर्ने गरिन्छ । उनका अनुसार बाघको शरीरमा पहेँलोमा हुने कालो धर्कालाई पाटा भनिन्छ । प्रत्येक बाघको पाटा फरक फरक हुने गर्दछ। त्यही पाटाका आधारमा सङ्ख्या यकिन गरिन्छ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन। त्यसैले फोटोमा छालाको पाटा हेरेर सङ्ख्या अनुमान गरिन्छ। निकुञ्जका १० हात्ती, ६० भन्दा बढी जनशक्ति गणनामा परिचालन गरिएको उनले बताए। गणना कार्यमा निकुञ्ज विभाग, ताल परियोजना, राष्ट्रिय प्रकृतिक संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेडएसएल लगायतका संस्थाले सहयोग गरेका छन्। पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो। त्यो बेला देशभर बाघको सङ्ख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए। सन् २०१३ मा पर्सामा नौ, बर्दियामा ५०, शुक्लाफाँटामा १५ र बाँकेमा चारवटा बाघ फेला परेका थिए। नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !