७ मंसिर २०८१, शुक्रबार

मन्त्री, सचिव र उच्चपदस्थलाई पछ्याउँदै कोरोना, ९० प्रतिशत कर्मचारी कार्यालय जान छाडे


भदौ ६, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । राजधानी दैनिकमा खबर छ ।

सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् ।

सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महŒवपूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोनाबाट संक्रमण हुने क्रम बढेको हो ।

सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी (वर्क फ्रम होम) व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमण बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडाैंमा निषेधाज्ञा भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !