, पदयात्रा पर्यटनको आकर्षक गन्तव्य माछापुछ्रे मोडेल ट्रेक

पदयात्रा पर्यटनको आकर्षक गन्तव्य माछापुछ्रे मोडेल ट्रेक

गण्डकी, ४ भदौ । छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुछ्रे मोडेल ट्रेक पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको एक आकर्षक गन्तव्य बन्दै गएको पाइएको छ ।

प्रकृति तथा सांस्कृतिक विविधताले सम्पन्न कास्कीको माछापुछ्रे गाउँपालिकामा पर्ने यो पदमार्गमा पछिल्ला वर्षमा समूह समूहमा पदयात्री पुग्ने र यहाँको स्थानीय उत्पादन तथा दृश्यावलोकनबाट आनन्द लिनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

न्यूनतम तीनदेखि बढीमा सात दिनसम्म पदयात्रा गर्न सकिने यो पदमार्गको यात्रा कास्कीका साविकका धिताल, ल्वाङघलेल, धम्पुस, रिभान, लाहाचोक, घाचोक तथा माछापुछ्रे गाविसका सबै स्थानबाट शुरु गर्न सकिन्छ । सबै स्थानबाट जान सकिने भए पनि अधिकांश पर्यटकले भने माछापुछ्रे गाउँपालिका वडा नं ९ को कुइबाङ्बाट पदयात्रा शुरु गर्ने गर्दछन् ।

पदयात्रा मार्गको कोरचोङ्बाट फर्किएमा तीन दिनमा पदयात्रा सम्पन्न गरेर पोखरा फर्कन सकिए पनि माछापुच्छे«को दक्षिणी आधार शिविर (एमविसी) र मर्दी हिमालको पूर्वी भाग रहेको तीन शिरसम्म पुगेर फर्कंदा भने एक हप्ता लाग्ने गरेको छ ।

कुइबाङबाट पदयात्रीहरू सैतीघट्ट, इमु, तक्रो, पु्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै तीन हजार ६८२ मीटर उचाइमा अवस्थित ‘भ्यु प्वाइन्ट’ पुग्दछन् । त्यहाँबाट एकैपटकमा अन्नपूर्ण साउथ, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, गन्धर्व हिमाल, अन्नपूर्ण प्रथम, बुद्ध हिमाल, मर्दी हिमाललगायत १० वटा हिमालको दृश्यावलोकन एकसाथ गर्न सकिन्छ ।

पदमार्गकै कोरचोङ्बाट बुकेनी हुँदै दुई दिनको यात्रापछि रमणीय ‘तीन शिर’ पुग्न सकिन्छ । सेती, मादी र मोदी नदीको शीर भएकाले यसलाई ‘तीन शिर’ भन्ने गरिएको र यहाँ आएर श्राद्ध गरेको खण्डमा पितृले मुक्ति पाउँछन् भन्ने जनविश्वासले यसको धार्मिक महिमा र गरिमा पनि बढाएको स्थानीयहरुको भनाई छ ।

यस क्षेत्रमा पदयात्रा पर्यटनको विकासका लागि सन् २००५ बाटै यसको औपचारिक प्रयास थालिएको हो । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको अगुवाइमा माछापुच्छ«े मोडेल ट्रेकको अवधारणाका साथ त्यसै समयदेखि प्रवद्र्धनका कामहरु अघि बढेको सङ्घका पूर्वअध्यक्ष वसन्तराज दवाडीले जानकारी दिनुभयो ।

“सन् २००५ मा टान पश्चिमाञ्चलका तत्कालीन अध्यक्ष सञ्जिव थापाले नेतृत्व गरिरहँदा यसको अवधारणाले थप गति लिएको हो,” उहाँले भन्नुभयो, “उक्त समयमा पदयात्रा क्षेत्रमा पर्ने यहाँका साविक सातवटा गाविसका प्रतिनिधि समेतलाई राखेर पदयात्राका माध्यमबाट यस क्षेत्रको पर्यटकीय विकास गर्ने सम्बन्धमा छलफल थालेका थियौँ ।”

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले यस क्षेत्रका पर्यटन व्यवसायीसहित पदयात्रा पर्यटनमा क्रियाशील व्यक्तित्व समेतलाई सहभागी गराएर सन् २००७ मा प्रवद्र्धनात्मक भ्रमण गरेको थियो ।

उक्त समयमा पदयात्रा मार्गको तल्लो क्षेत्रका स्थानीयवासीलाई पर्यटनसँग जोड्नका लागि घरवास तालिम दिइएको जानकारी दिँदै दवाडीले माथिल्ला क्षेत्रमा क्याम्पिङ साइट, सहयोगीका लागि बस्ने स्थानलगायतका पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।

पछिल्ला समयमा यस ट्रेकको विकासका लागि स्थानीय तहले पनि चासो दिँदै आएका छन् । पूर्वाधार निर्माण सहित प्रवद्र्धन र विकासमा स्थानीय सरकारले सक्रियता देखाइरहेका अवस्थामा पछिल्ला समयमा भने विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभाव यहाँ पनि परेको छ ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीको शुरुआती चरणमा केही आन्तरिक पर्यटक पदयात्राका लागि पुगे पनि स्वयं स्थानीयवासी त्रसित भएर पदयात्रीको आवतजावतमा रोक लगाएका थिए ।

विस्तारै गति लिन शुरु गरेको पदयात्रा मार्ग कोरोनाले प्रभावित बनेपछि यहाँका व्यवसायी, घरवास सञ्चालक तथा पर्यटन व्यवसायी युवाहरु चिन्तित भएको माछापुच्छ«े नमूना पैदलमार्ग व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताउनुभयो ।

“मानिसहरु पदयात्रामा जान चाहेका थिए तर हामीले सम्भावित जोखिमका कारणले लान सकेनौँ,” उहाँले भन्नुभयो, “पदयात्रा मार्गका कतिपय ठाउँमा पर्यटक लक्षित सेल्टर समेत हिउँका कारणले अहिले क्षति पुगेको अवस्था छ ।”

अधिकारीका अनुसार विसं २०५८/०५९ तिर माछापुछ्रे मोडल ट्रेक पहिचान गरी पर्यटकलाई रातमा बास बस्न अस्थायी सेल्टरहरू बनाइएको हो । त्यसबेला विभिन्न पाँच ठाउँमा सेल्टर र खानेपानीको व्यवस्था गरिएको थियो ।

विसं २०७४ मा माछापुछ्रे मोडल टेक व्यवस्थापन समिति गठन पछि यस क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धनले थप गति लिएको अधिकारीले बताउनुभयो ।

“समिति गठनपछि खानेपानीको अभाव रहेको यस क्षेत्रमा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन तथा स्थानीय सरकार आएपछि गाउँपालिका र वडाको बजेटबाट गोरेटो बाटो तथा अप्ठ्यारो ठाउँमा मर्मत गरी न्यूनतम पूर्वाधार तयार गरिएको छ,” उहाँले थप्नुभयो ।

मेटापुरुङ, मेश्रुम र कोर्चोनमा अस्थायी टहरा बनाएर बसोबासको व्यवस्था मिलाइएको छ । मेश्रुममा सात जना बस्न मिल्ने होटल सञ्चालनमा आइसकेको छ ।

पदयात्रामार्गमा घरवास सञ्चालन गरेर स्थानीय उत्पादनलाई जोड दिइएको बताउँदै अधिकारीले भन्नुभयो, “पर्यटकका लागि पहिलो आवश्यकता आवश्यक पूर्वाधारहरु नै हुन्, बाटो, खानेपानी तथा आवासको प्रबन्ध गरेका छौँ ।” यहाँका तामाङ सामूदायिक होमस्टे र जाउँ है हिमाल होमस्टेमा पर्यटकले प्राङ्गारिक उत्पादन कोदो र दूध लगायतका परिकार खान पाउँछन् ।

माछापुछ्रे आधार शिविर र तीन शिरसम्म पुग्नका लागि माछापुछ्रे पदयात्रामार्ग चानेहरु बढी छन् । माछापुछ्रे मोडल ट्रेकको विशेषता नै एक भन्दा बढी स्थानबाट पुग्न सकिने भएकाले समेत पदयात्रीलाई सहज हुने गरेको छ ।

विसं २०५८ मा टानले पदयात्रा मार्गको पहिचान गरी सो क्षेत्रमा पर्ने साविकका सातवटा गाविसमा ‘साइनबोर्ड’ राखेर सो मार्गलाई चिनाउने प्रयास गरेपनि बीचमा त्यसको प्रवद्र्धन तथा पूर्वाधार निर्माणको कार्य अघि बढ्न सकेको थिएन ।

पदयात्रामा आउने पर्यटकका लागि आवास, खानपिन तथा बाटोको सहजताको लागि पूर्वाधार निर्माणलाई स्थानीयले प्राथमिकतामा राखेर काम गरेको र केही पूर्वाधार तयार रहे पनि हाल कोरोनाले पर्यटक आवागमन ठप्प रहेको समितिका अध्यक्ष भक्तबहादुर गुुरुङले बताउनुभयो ।

यस मार्गमा पर्नेे आलङ्गे झरना, धार्मिक महत्व बोकेको नौढोके गुफा, भैँसी गोठ भएका रमणीय खर्कहरु, बुट्यान, जङ्गलमा देखिने डाँफे, मुनाल, कालिज लगायतका पन्छीहरुको चिरविरले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पदयात्रामार्गलाई सहज बनाउने उद्देश्य अनुसार ठाउँठाउँमा आवश्यक पूर्वाधार निर्माण गरिएकोे वडा नं ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको रु १० लाख लागतमा गत वर्ष कल्थादेखि सामुडाँडासम्म ६५० मिटर लामो बाटोमा ढुङ्गा विच्छाएर सिँढी, ठाउँठाउँमा चौतारी तथा खानेपानीको प्रबन्ध गरिएको क्षेत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी आलङ्गे झरनासम्म पनि वडाको बजेटबाट सिँढी बाटो निर्माण गरिएको बताउँदै वडाध्यक्ष क्षेत्रीले माछापुछ्रे मोडेल ट्रेकबाट पदयात्रा गर्दै एक साथ हिमाल, गुफा तथा धार्मिकस्थलको अवलोकन गर्न सकिने उल्लेख गर्नुभयो । जनप्रतिनिधि आईसकेपछि यसको प्रवद्र्धन गर्नुपर्दछ भनेर आफूहरू लागेको उहाँले बताउनुभयो ।

पदयात्रामार्गका अधिकांश अप्ठ्यारो स्थानमा बाटो मर्मत गरेर १२ महिना पैदल हिँडन सकिने बनाइएको छ । यहाँका मेश्रम, नौढोकेलगायतका स्थानमा खानेपानीको प्रबन्ध गरिएको समितिका अध्यक्ष भक्तबहादुर गुरुङले बताउनुभयो ।

विकासका नाममा जथाभावी बाटो खन्ने नाममा पदमार्गहरू नासिदै गएका अवस्थामा माछापुच्छ«े मोडेल ट्रेकका धेरै सम्भावना रहेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापा बताउनुहुन्छ । पदयात्रा मार्गको पर्यटकीय आकर्षण बढाउन स्थानीय पर्यटन व्यवसायीमा पनि जागरुकता हुनुपर्ने उहाँको भनाइ छ ।

पदयात्रा मार्गमा आवश्यक पूर्वाधारको विकास गर्दै लगेमा यसलाई पदयात्रा पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न सकिने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

माछापुछ्रे मोडेल ट्रेकमा पूर्वाधार विकाससँगै पर्यटकको बसाइ अवधि लम्ब्याउने खालको कार्यक्रमको पनि खाँचो देखिएको छ । त्यसका लागि यहाँबाट अन्नपूर्ण आधार शिविरतर्फ जानका लागि उक्त पदमार्ग क्षेत्रको बम्बोमा पुल हाल्नेलगायतका धेरै काम गर्न सकिने पनि उहाँले बताउनुभयो ।