१८ असार २०८१, मंगलबार

शिक्षा क्षेत्र राजनीतिबाट मुक्त राख्नुपर्छः शिक्षामन्त्री


विराटनगर, ५ वैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाका अधिकार संविधानमा उल्लेख भइसकेकाले यसलाई कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुुपर्ने र शिक्षकहरू कक्षा कोठामै विद्यार्थीलाई पढाउन अग्रसर रहनुपर्ने स्पष्ट पारे ।

शिक्षा विधेयकको आठौं संशोधन अन्तिम अवस्थामा रहेको बताउँदै मन्त्री पोखरेलले संसद् अधिवेशन सुरु भएपछि यस विषयमा छलफल हुने जानकारी गराए ।

विद्यार्थीबीच पुस्तक वितरण कार्यक्रम आइतबारदेखि सुरु भई वैशाख १५ गतेसम्म जारी रहने छ । कतिपय विद्यालयले पुराना पुस्तक वितरण गरी बिल पेस गर्ने कार्य विगतमा गरेको पाइएकाले अब त्यसो गर्ने विद्यार्थी कारबाहीमा पर्ने शिक्षामन्त्री पोखरेलले स्पष्ट पारे ।

समयमा कागज उपलब्ध नभएकाले छाप्न ढिलाइ भएपनि मध्यवैशाखसम्म झापा, मोरङ, सुनसरीलगायत ठाउँमा किताब उपलब्ध हुने जिकिर उनले जिकिर गरे । निजी विद्यालयका पुस्तक महँगो मूल्यमा बिक्री भइरहेको सम्बन्धमा मन्त्री पोखरेलले दुई तिहाइ अभिभावकको सहमतिमा निजी विद्यालयले शुल्क बढाउन पाउँछन् । पुस्तकको मूल्य चर्को भएका सम्बन्धमा छानबिन गरिने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !