७ मंसिर २०८१, शुक्रबार

कैलाशडाँडामा वृक्षरोपण


वृक्षरोपण

काठमाडौँ, २३ असार । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाशडाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आज वृक्षरोपणको शुरुवात गर्नुभएको हो । समी, कपुर, रुद्राक्ष, असारेलगायत प्रजातिका ती बिरुवा कैलाशडाँडाको खुला स्थानमा रोपिएको हो । कोषले पर्खाल निर्माण गरी यसै वर्ष कैलाशडाँडालाई संरक्षण गरेको थियो । सो क्षेत्रलाई आकर्षक उद्यानका रुपमा विकास गर्ने सोच कोषले अघि सारेको छ ।

कोषले गत वर्षदेखि पशुपति क्षेत्रमा धार्मिक प्रजातिका पाँच हजार बिरुवा रोप्ने घोषणा गरी अभियान जारी राखेको छ । यसैगरी पशुपति क्षेत्रको दक्षिणतिर चक्रपथबाट छिर्ने गरी निर्माण गरिएको मुख्यद्वारको पनि मन्त्री भट्टराईले उद्घाटन गर्नुभयो । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रु तीन करोडको लागतमा दक्षिणतिरको मुख्यद्वार निर्माण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिकुल परिस्थिति भए पनि सबै क्षेत्रलाई सधैँ बन्द गर्न नसकिने बताउनुभयो । दूरी कायम गरेर सार्वजनिक यातायात लगायत व्यवसायसमेत सञ्चालनको तयारी भइरहेको उहाँको भनाई थियो ।

मन्दिर आउने भक्तजनलाई न्यूनतम् सेवा दिने गरी अझै धेरै गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभएको थियो । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ पशुपति महत्व स्थापित गर्न कोष लाग्नुपर्नेमा पनि उहाँले कोषका पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजधानीको केन्द्रबिन्दुमा रहेको पशुपतिमा सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न व्यावसायिक प्रतिष्ठानको रुचि बढेजस्तै देशका अन्य धार्मिक स्थलमा पनि विकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न लागिएको बताउनुभयो । विश्वभर फैलिएका धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी धार्मिक आध्यात्मिक सुन्दरस्थलका रुपमा पशुपतिको पहिचान स्थापित गर्ने अभियानमा कोष लागेको उहाँले सुनाउनुभयो ।

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकरले कोषसँग साझेदारीमा अन्य कामसमेत गरिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा उहाँले पशुपति क्षेत्रको सफाइका लागि रु २५ लाख मूल्य पर्ने ब्रुमरसमेत हस्तान्तरण गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !