
काठमाडौँ । देशका प्रमुख तीन राजनैतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरुले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना दिन आनाकानी गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान ८ बजेसम्म उनीहरुले चलाउने सामाजिक संजाल फेसबुक र एक्समा राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना दिएको देखिंदैन ।
३०३औँ पृथ्वी जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा शुभकामना समेत दिन आनाकानी गर्ने हाम्रा नेताहरुबाट खाक्रो राष्ट्रवादको भजन सुनेर नेपाली जनता वाक्कदिक्क भएका छन् ।
तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्नु हुँदै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पूर्वराजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।
“राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, उनले ट्वीटर पेजमा लेखेकी छन् ।