१७ पुस २०८१, बुधबार

पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड


विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छन् ।

नयाँ वर्ष २०८० का अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताएकी छन् ।

नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनको सन्देशमा भनिएको छ, “विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गर्यौं । दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड–१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन । हाम्रो सामु आज युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीका निम्ति अवसर सिर्जना गर्ने तथा कृषि, शिक्षा र नवप्रवत्र्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने चुनौती विद्यमान छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !