८ मंसिर २०८१, शनिबार

स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नगरी होली मनाऔं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाद्वारा फागु पूर्णिमाको शुभकामना


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ ।

प्रधानमन्त्री देउवाले कोभिड-१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !