२००९ साल असोज १३ गते दार्चुला जिल्ला, शंकरपुर गा.वि.स. गोठचुडी भन्ने बिकट गाउँमा जन्मनु भएका प्रा. डा. जयराज अवस्थी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति हुनुहुन्छ । नेपालमा ‘लिन्गुस्टिक्स’ (भाषाविज्ञान) विषय भन्ने वितिक्कै हरेक व्यक्तिले शुरुमा उहाँलाई पनि सम्झिन्छन् । मास्टर्स गरिसकेपछि २०४२ मा फुल ब्राइट स्कलरशिप मार्फत अमेरिकाको ख्याति प्राप्त मिसिगन विश्वविद्यालयवाट लिन्गुस्टिक्समा पुन: मास्टर गर्नु भएका प्राध्यापक अवस्थीले भारतको हैदरावाद विश्वविद्यालयवाट ‘अप्लाइड लिन्गुस्टिक्स’ अन्तर्गत ‘Error Analysis’ विषयमा २०५२ मा पी.एच.डी. गर्नु भएको हो ।
४० बर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका अवस्थीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आधार स्तम्भ राख्नमा ठुलो योगदान गर्नु भएको छ । भाषा विज्ञानका ज्ञाता तथा शिक्षाविद् अवस्थीले भिजिटिंग प्रोफेशरको रुपमा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा प्राध्यापन गरी सक्नु भएको छ । यसरी लामो समयसम्म देश तथा विदेशको शैक्षिक प्रणाली र अवस्थाको बारेमा अनुभव भएका प्राध्यापक अवस्थीसँग नेपालमा शिक्षाको बर्तमान अवस्था र भविष्यको बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।
१. नेपालमा ‘लिन्गुस्टिक्स’ (भाषाविज्ञान) विषय भन्ने वितिक्कै हरेक व्यक्तिले सुरुमा यहाँलाई सम्झिन्छन् । नेपालमा भाषा विज्ञानको बर्तमान अवस्था कस्तो रहेको छ ?
सन् १९७९ मा भाषाविज्ञान समाजको स्थापना भएको थियो । म पनि त्यसको संस्थापक सदस्य हो । नेपालमा भाषाहरुको तथ्यांक हेर्ने हो भने नेपालमा १२३ भाषा बोलिने देखिन्छ भन्ने नेपाली, मैथिली, भोजपुरी, थारु, तामांग, नेवार, बजिका, मगर, डोटेली र उर्दु लगायत भाषाहरु बोल्ने जनसंख्या ठुलो छ । तर हामीले सन् २०११ को जनगणना हेर्ने हो भने १४ वटा भाषाहरु १ प्रतिशत भन्दा बढी मानिसले बोल्छन् । केहि भाषाहरु लोप हुँदै गई रहेका छन् । भाषाविज्ञान समाज र भाषाविज्ञान बिभागले बिगतमा भाषा सर्भे पनि गरेका छन् । प्राध्यापक तेजरत्न कंसाकार, प्राध्यापक चुडामणि बन्धु, प्राध्यापक नोवेल किशोर राई, प्राध्यापक माधव पोखरेल, प्राध्यापक दान राज रेग्मी लगायत अहिलेका जल्दाबल्दा भाषा विज्ञानका प्राध्यापकहरु भाषाविज्ञानको सर्भेमा जुटिराख्नु भएको छ । अहिलेको मुख्य विषय भनेको भाषाको संरक्षण कसरी गर्ने तथा लोप हुन् लागेका भाषाहरुलाई कसरी जोगाउने भन्ने हो । सरकारले पनि भाषा आयोगको गठन गरेको छ । यसले पनि भाषाको क्षेत्रमा काम गरी राखेको छ भन्ने सुनेको छु । केहि न केहि काम भई रहेको छ तर जति हुनुपर्थ्यो त्यति सन्तोषजनक भएको छैन ।
२. सर त सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति पनि हुनुहुन्छ । नेपालको एउटा विश्वविद्यालय पनि विश्वका एक हजार विश्वविद्यालयहरुको सुचीभित्र पर्न सकेको छैन, अब विश्वविद्यालयहरुमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न के गर्नुपर्ला ? विश्वविद्यालयहरु मध्ये सबैभन्दा टपमा आउनको लागि केके कुराले निर्धारण गर्छ ?
नेपालमा खोज, अध्ययन, अनुसन्धान गर्ने काममा बजेट वृद्धि भएको नै छैन । विश्वविद्यालयको मुख्य काम भनेको खोज, अध्ययन, अनुसन्धान गर्ने नै हो । हामीले अनुसन्धानलाई प्राथमिकता दिएर त्यसलाई शिक्षणसँग जोड्ने हो जसले क्वालिटीमा पनि सुधार ल्याउछ । नेपालको सबैभन्दा ठुलो समस्या भनेको शिक्षामा राष्ट्रिय बजेट कम हुँदै गएको प्रसंग हो । शिक्षामा र अनुसन्धानमा बजेट बढाएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ । शिक्षामा छुट्याइएको बजेट एकदम न्यून छ । शिक्षामा २० प्रतिशत बजेट नपुर्याईकन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सकिदैन ।
विश्वविद्यालयको रेकिंगमा सबैभन्दा अघि आउन अन्तर्राष्ट्रिय स्तरमा त्यो विश्वविद्यालयमा कति खोज, अध्ययन, अनुसन्धान भएको छ र अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त जर्नलमा कति अनुसन्धान प्रकाशन भएको छ भन्ने कुराको साथै त्यहाँ भएका प्रोफेसरहरु कुन तहका छन् र कति जना विश्वमा नाम चलेका वा नोबेल पुरस्कार विजेता छन् भन्ने कुराले निर्धारण हुन्छ ।
३. सर त शिक्षा क्षेत्रको धेरै लामो समयसम्म काम गरेको अनुभवी विज्ञ पनि हुनुहुन्छ । नेपालको वर्तमान शैक्षिक प्रणालीलाई तपाइले कसरी विश्लेषण गर्नुहुन्छ ?
शिक्षा प्रणाली भन्ने वितिकै हाम्रो विद्यालयदेखि विश्वविद्यालयसम्म भएका शिक्षण प्रणाली र योजनाहरु हेर्नुपर्ने हुन्छ । यी सबै कुरा हेर्दा हामीले भोलिको पुस्तालाई सम्बोधन गर्ने खालको शिक्षा अहिले दिइरहेका छौ वा छैनौ भन्ने हेर्नु पर्दछ । अहिले नेपालमा बेरोजगार जनशक्ति मात्र तयार भई रहेको छ भने दक्ष जनशक्ति तयार भई रहेको छैन । Education for coming Decades भन्ने खालको शिक्षा योजना हाम्रो तयार भएको छैन । हाम्रो देशमा दीर्घकालीन मानव संसाधन योजना (Human Resource Planning) पटक्कै भएको छैन । कस्तो खालको जनशक्ति के को लागि तयार पार्ने भन्ने योजना र त्यो जनशक्तिलाई अवलोकन कसले गर्ने भन्ने खालको संयन्त्र तयार पार्नुपर्छ । भोलीको लागि नेपाल र विश्वको लागि काम लाग्ने सक्ने दक्ष जनशक्ति तयार पार्न सक्नुपर्छ ।
४. सर त बिदेशी विश्वविद्यालयमा भिजिटिंग प्रोफेशर भएर प्राध्यापन पनि गर्नुभयो । नेपाली विश्वविद्यालयको शिक्षा र बाहिरी विश्वविद्यालयको शिक्षामा के फरक पाउनुभयो ?
यो एकदम गहन प्रश्न हो । University is for learning and Higher education for learning भन्ने कुरा बिर्सिनु हुँदैन । अर्को कुरा हामीले विश्वविद्यालयलाई University for World Knowledge को रुपमा हेर्नुपर्छ । बिदेशी विश्वविद्यालयमा विद्यार्थीहरुले म यहाँ सिक्नको लागि आएको हो र मैले धेरै सिक्नुपर्छ भन्ने भावना राख्छन् । हामीले नेपालमा Certificate oriented शिक्षा दिइएका छौं भने Job oriented शिक्षा दिन सकिरहेका छैनौ । विद्यार्थीहरुले यहाँ मेरो कति प्रतिशत आयो वा कुन ग्रेड आयो भनेर चिन्ता लिन्छन् तर उसलाई मैले कति, के के सिकेको छु भन्ने चिन्ता दिएको देखिदैन । अरु देशका विद्यार्थीहरु पढाईप्रति लगनशील हुन्छन र उनीहरु सिर्जनशील पनि हुन्छन । नयाँ खोज, अध्ययन र अनुसन्धान गर्न विश्वविद्यालयले छात्रवृति, अनुदान र सहयोग गर्छ । विश्वविद्यालयमा राजनीति पटक्कै हुँदैन । हाम्रोमा त विद्यार्थी, प्रोफेसर सवैलाई राजनीतिको हावाले छोएको हुन्छ । राजनीतिको बारेमा चासो राख्छन तर विश्वविद्यालयमा राजनीति गर्दैनन् । कुनै पनि प्रोफेसरले म फलानो पार्टीको भनेको सुनेको छैन । त्यसैले गर्दा शिक्षकले विद्यार्थीवाट सिक्ने र विद्यार्थीले शिक्षकवाट सिक्ने वातावरण हुन्छ । तर हाम्रोमा भने एउटा विषयमा स्नातकोत्तर उपाधी प्राप्त गर्दा उक्त विषयको ठुलो विज्ञाता सम्झिने चलन छ । तर अन्य देशमा शिक्षकहरु जीवनप्रयन्त सिकारुकै रुपमा भेटिन्छन् ।
५. नेपालमा शैक्षिक संस्थाहरुको गुणस्तर बढाउन नसक्नु कारण के हो ?
शिक्षण संस्थाको गुणस्तर बढाउनको लागि शैक्षिक वातावरणको आवश्यक हुन्छ । यदि हामीले उचित शैक्षिक वातावरण बनाउन सक्यौ भने नेपालमा पनि शैक्षिक संस्थाहरुको गुणस्तर अवश्य पनि बढ्छ । एउटा विद्यार्थीहरुमा म सिक्नको लागि आएको हो भन्ने चिन्तन हुनुपर्छ र शिक्षकमा पनि मैले पढाएको विद्यार्थी राम्रो होस् भन्ने र आफ्नो बिद्यार्थीको उन्नतिमा गौरव मानोस । त्यो शिक्षकले मलाई पढाएको भन्ने विद्यार्थीमा पनि मान सम्मान गर्ने बानी रहोस् । दोस्रो शिक्षक पूर्वाग्रही हुनुहुदैन । आफुलाई मनपर्ने मात्र विद्यार्थी र अरु होइन भन्ने कुदृष्टि राख्न थालियो भने गुणस्तर आउदैन । शिक्षण संस्थाहरुले गुणस्तरीय शिक्षा दिने वातावरण बनाई दिनुपदर्छ । अत्याधुनिक पुस्तकालय, इन्टरनेट सुविधा र अन्तर्राष्ट्रिय जर्नलहरुको व्यवस्था एउटा असल शिक्षण संस्थाको गहना हुन् । शिक्षकहरुलाई उनीहरुको प्राज्ञिक उन्नतिको समुचित वातावरण बनाउन सके शिक्षाको गुणस्तर बढाउन सकिन्छ ।
६. नेपालमा शिक्षाको गुणस्तर खस्कनुमा राज्यको मात्र कमजोरी हो की यहाँ जस्ता शिक्षाविद्हरुको भूमिका र जिम्मेवारी कत्तिको रहन्छ ?
मलाई लाग्छ दोष र कमजोरी सबै हो । पहिलो कुरा, राज्यको कमजोरी भनेको राज्यले The Right Man in the Right Place at the Right Time मा राख्न नसक्नु हो । दोस्रो कुरा भनेको जिम्मेवारी मात्र दिइन्छ योजना छैन । जिम्मेवारी दिनुभन्दा पूर्व योजना बनाउनुपर्छ, योजना बनाएर ल्याउन लगाउनुपर्छ । मलाई लाग्छ योजना भनेको धेरै महत्वपूर्ण हो । हामी शिक्षकहरूको पनि कमजोरी होला किनकी हामीले पाएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न नसकेको हुनुपर्छ । त्यसरी नै राज्यवाट शिक्षण संस्थालाई दिनुपर्ने बजेट यथेष्ट नदिएर पनि गुणस्तर खस्केको हुनुपर्छ, बिद्यार्थीहरुमा पनि अध्ययन गरेर सिर्जनसीलता प्राप्त गर्न कोशिस नभएको हुन सक्दछ ।
७. शैक्षिक प्रणालीमा देखिएका कमजोरीलाई सुधार गर्न संघीय संरचनामा अबको शिक्षा नीति कस्तो हुनुपर्छ ?
स्थानीय सरकारहरुलाई पुरै जवाबदेही बनाएर उनीहरुलाई शैक्षिक प्रणाली संचालनको जिम्मा दिनुपर्छ तर केन्द्र सरकारले सुपरिवेक्षण र अनुगमन चाही गर्नुपर्छ । केन्द्र सरकारले पनि केहि धेरै राम्रा केन्द्रिय विद्यालय र विश्वविद्यालय खोलेर तिनीहरुको संचालन र अनुगमन गर्नुपर्दछ भने राज्यले प्रदेश भित्रका अन्य विद्यालय र विश्वविद्यालयको संचालन र अनुगमन गर्नुपर्दछ । प्रदेश सरकारले ठाउँ अनुसारको प्राविधिक शिक्षामा विशेष गरी दिनुपर्दछ ।
८. शिक्षक सेवा आयोगले लिने सबै परीक्षामा शतप्रतिशत अंक पाउने व्यक्तिहरु मात्रै शिक्षक बन्न योग्य हुने व्यवस्था गर्न विज्ञहरुले दिएको सुझावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
शतप्रतिशत अंक ल्याउनको लागि त गार्हो होला तर उच्च क्षमता भएको शिक्षक पाउन सकियो भने राम्रै हुन्छ । राम्रो शिक्षक भयो भने विद्यार्थी पनि राम्रो बन्छ। शिक्षक हुनको लागि मोटिभेसन पनि हुनुपर्छ । जस्तै राजनीतिज्ञ र सरकारी कर्मचारीहरुले पाउने जत्तिकै सेवा र सुविधाहरु यदि शिक्षकले पाउने हो भने शतप्रतिशत अंक ल्याउने र धेरै मेधावी बिद्यार्थीको यो पेशामा आकर्षण बढन् सक्छ।
९. सरकार, शिक्षाविद् लगायत शिक्षा सरोकारवालाहरुले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अगि बढाइरहेको अवस्था छ । यसले निजी विद्यालय संचालनमा के कस्तो प्रभाव पार्दछ ?
मलाई लाग्छ निजी विद्यालयहरु पनि राष्ट्रको आवश्यकताले नै आएका हुन् । त्यो समयमा हामीलाई निजी विद्यालय आवश्यक नै थियो । नेपालमा २०३७ सालवाट शिक्षामा निजीकरण शुरुवात भएको हो । २०३७ सालदेखि त्रिभुवन विश्वविद्यालयले पनि Affiliation दिन शुरु गर्यो । २०२८ सालमा सरकारले सबै शिक्षाको अधिकार आफ्नो हातमा लियो र फेरि २०३७ सालमै किन विस्थापित गर्नुपर्यो यो अध्ययनको विषय हो । त्यतिखेर त अमेरिकी सरकार अन्तर्गतको USAID ले शिक्षामा ५७ करोड बजेट सहयोग दिएको थियो । त्यतिखेरको लागि त्यो ठुलो बजेट थियो । त्यो सकिने बितिकै त्रिभुवन विश्वविद्यालयवाट Affiliation पनि सुरुवात भयो । अनि सरकारले पनि विद्यालयलाई शिक्षकहरुको तलव मात्र बिनियोजन गर्न सकिने तर भौतिक संरचना र सेवासुविधामा बजेट दिन नसकिने भन्यो । निजी स्कुल र कलेजलाई कम्पनीमा दर्ता गर्न दिएर बिकृति भित्र्याउने काम पनि सरकारले नै गरेको हो । ट्रष्टमार्फत स्कुल र कलेज खोल्ने प्रावधान बनाएको भए सवै ब्यबस्थित हुन्थे । यस अवस्थामा निजी विद्यालय तथा क्याम्पसहरुको उचित नियमन गर्नु समय सापेक्ष हुन्छ । तिनीहरुलाई बन्द गर्ने प्रश्नको अन्त्य नियमनवाट गर्न सकिन्छ ।
१०. नेपालमा निजी विद्यालयलाई खारेज गर्नुपर्छ भन्ने आवाज चर्को रुपमा आएको छ । यसले पार्ने दीर्घकालिन प्रभाव र असर व्यवस्थापन गर्न सरकारसंग क्षमता छ ? यसमा यहाँ को धारणा के छ ?
सरकारी अनुदान प्राप्त विद्यालयहरुले गुणस्तर बढाएर लाँदा निजी विद्यालयप्रतिको आकर्षण काम हुदै जान्छ । हालसम्म सरकारी सेवा लगायत प्रमुख क्षेत्रहरुमा सरकारी अनुदान प्राप्त विद्यालयका उत्पादनहरु अधिकांश ठाउँमा पुगेको देखिन्छ ।
११. नेपालमा अव शिक्षाको गुणस्तर बढाउन विदेशी दातृ निकायको सहयोग बन्द गर्नुपर्छ भन्ने धारणा पनि आउन थालेको छ । दातृ निकायको सहयोग बन्द गर्दा हाम्रा विश्वविद्यालयहरु संचालन हुन सक्छन ? यसमा यहाँको धारणा के छ ?
शिक्षाको गुणस्तर बढाउनको लागि नै भनेर विदेशीको सहयोग आएको छ । विदेशी दातृ निकायको शिक्षामा सहयोग हामी नेपालीको हितमा हुनुपर्छ । हामी नेपालीले आफै योजना बनाएर आफ्नो माटो सुहाउँदो शिक्षाको लागि मात्र विदेशी सहयोग लिनुपर्छ । नेपाली अर्थतन्त्रले मात्र नेपालको शिक्षाको गुणस्तर बढाउन नसक्ने भएकोले आवश्यकताको आधारमा सहयोग लिने प्रावधान गर्दा राम्रो हुन्छ ।
१२.विकास उन्मुख जस्तो देश अन्तर्राष्ट्रिय स्तरको दीर्घकालीन वा अल्पकालीन खालको योजनाहरु नेपालको राष्ट्रिय योजना आयोगले बनाउन सकेको छ जस्तो लाग्छ ?
अहिलेसम्म त्यस्तो देखिएको छैन । नेपालको राष्ट्रिय योजना आयोगले अन्तर्राष्ट्रिय स्तरको दीर्घकालीन वा अल्पकालीन खालको योजनाहरु बनाई देशको विकास गर्नतिर अघि बढ्नुपर्छ । अव राज्य सरकारको आफ्नै योजना आयोग हुने हुनाले राज्यका अल्पकालीन र दीर्घकालीन योजना यिनैले बनाउने भएकोले पहिले हुन नसकेका कार्य हुन् सक्ने विश्वास गर्न सकिन्छ ।
१३. आजसम्म जीवनमा देश, विदेश भ्रमण, शिक्षण, प्राध्यापन, उपकुलपति जस्ता धेरै अरोह–अवरोहका भोगाईका अनुभववाट भन्दा वास्तवमा जीवन के रहेछ ?
जीवन भनेको संघर्ष हो, हामीले आफ्नो अनुभववाट सिक्दै जानुपर्दछ ।
१५. अरु भन्न छुटेका केहि कुराहरु छन की ?
शिक्षित व्यक्तिहरुले धरातलीय यथार्थ भन्दा माथि उठेर म शिक्षित व्यक्ति हु, म जे गर्छु मेरो देशलाई अगाडी राखेर गर्छु र त्यसप्रति म समर्पित छु भन्ने भावनावाट कार्य गर्नुपर्दछ र आफुले पाएको जिम्मेवारी राम्रोसँग बहन गर्न सिकौ ।
१६. अन्त्यमा, नेपालपत्रमार्फत आम पाठकलाई के भन्न चाहनुहुन्छ ?
नेपालपत्रलाई धन्यवाद दिन चाहन्छु किनकी मलाई आफ्ना भावना राख्ने अवसर दिनुभएकोमा । हाम्रो अनि सुन्दर देशलाई विश्व आकर्षणको केन्द्र बनाउन हामी सवै शिक्षित व्यक्तिहरुले आ-आफ्नो ठाउँवाट नि:स्वार्थ सक्दो सहयोग गरौ ।