१० असार , काठमाडौँ । धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरिरहेको संस्था वेद उप्रेती ट्रष्टका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेतीले अन्तराष्ट्रिय विमानस्थलको छेउमै विश्वकै ठूलो मानिने टर्किस एयरको जहाज ल्याएर यस्तो साहसिक काम गरेका हुन् । आकाशमार्गबाट संसारको फन्को मारीसकेका क्याप्टेन उप्रेतील आफ्नै पहलमा सात करोड लगानी गरेर राजधानीमा ‘एभिएसन म्युजियम’ स्थापना गरेर चर्चामा छन् । उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन सङ्ग्रहालय सुरु गरेको बताउने वेद उप्रेतीसँग एभिएसन म्युजियमको विषयमा केन्द्रित रहेर नेपालपत्रका सम्पादक सरोज रिजालले गरेको कुराकानी ।
तपाईं हवाई चालक (पाइलट) मात्र नभएर प्रशिक्षकसमेत हुनुहुन्छ साथै लेखक, फोटोग्राफर र समाजसेवीको परिचय बनाइसक्नु भएको छ । आफूले परिचय दिनुपर्दा कसरी चिनाउन चाहनुहुन्छ ?
म प्रशिक्षक पाइलट हुँ । अन्य विधा चाहिँ मेरो रुचिको विषय हुन्, रुचिकै रुपमा अन्य विषयमा संलग्न भएको हुँ । त्यसैले म प्रशिक्षक पाइलट नै भन्न चाहन्छु ।
तपाईंको बारेमा पनि संक्षिप्त जानकारी दिनुहोस् ।
मेरो जन्म विसं २०२० मा कैलालीमा भएको हो । बाल्यकालमा इन्जिनियर बन्ने चाहना थियो । कृषकको छोरा म, पाईलट हुने सम्भावना नै थिएन । तर मेरो मनको कुनै कुनामा पाइलट बन्ने चाहनाले घर बनाईरहेको थियो । आज, निकै लामो र कठिन संघर्षपछि, विमान उडाउनु मेरो पेशा बनेको छ । २०४० सालमा नेपाल आर्मीमा प्रवेश गरें । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गरेको हुँ । २०५२ मा नेकोन एयरमा जागिरे भएँ । त्यसपछि भारतको एयर डेकन एयरलाइन्समा काम गरें र त्यसपछि भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरें । सन् २०१२ देखि नै इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गर्दै आएको छु ।
तपाईंले १० हजार घण्टाभन्दा धेरै समय आकाशमा विताइसक्नुभएको छ । आकाशमा पहिलो पटक उडान भर्दा कस्तो अनुभव भएको थियो रु केहि सम्झना छ रु छ भने बताइदिनुहोस् ।
सन १९८६ मा पहिलो पटक मैले उडान भरेको हुँ । पहिलो पटक एक्लै उडान भर्दा निक्कै नै एडभेन्चरस र अविस्मरणीय हुन्छ । विराटनगर उडानमा रहेको नेकोन एयरको विमान कोसी नदीमाथि पुगेपछि एउटा इन्जिन फेल भयो, विमानका दुइटा इन्जिन भएकाले जसोतसो अवतरण गरियो । अर्को सगरमाथा क्षेत्रमा २७ हजार फिटबाट करिब तीन हजार फिट विमान खसेको छ जुन जीवनकै अविष्मरणीय क्षण हुन् । प्रत्येक पटकको उडान रोमान्टिक र रोमाञ्चक हुने गर्दछ ।
एभिएसन म्युजियम सञ्चालन गर्ने परिकल्पना कसरी आयो र?
मुख्यगरी फोटोग्राफी र यात्राले नै यो सब सम्भव भएको हो । म एक महिना उडेपछि अर्को एक महिना नयाँ देश र गन्तव्य घुम्छु, हालसम्म ८० बढी देश घुमिसकेँ, त्यहाँ गएपछि यस्ता नयाँ आइडिया आउँछ, यो त्यसको उपज हो ।
म्युजियमका विशेषता र उद्देश्य के रहेको छ र?
अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो सङ्ग्रहालय सञ्चालन गरिएको हो । नागरिक उड्डयान प्राधिकरण र बेद उप्रेती ट्रष्टको सहकार्यका सुरु गरिएको यस म्युजियमको मुख्य उद्देश्य भनेको नै नयाँ विद्यार्थीलाई पाइलट बनाउन आकर्षित गर्नु हो । दोस्रो कारण पाइलट, इन्जिनियर र ग्राउण्ड कर्मचारीको अभाव दिनप्रति दिन बढिरहेको अवस्थामा यस क्षेत्रमा जनशक्ति निर्माण गर्न म्युजियमले सहायक भूमिका खेल्न सक्दछ । तेस्रो कारण भनेको पर्यटक वृद्धि गर्न पनि हो नेपालमा हवाई यात्रा सुरक्षित छ भन्ने सन्देश दिनु पनि हो । अर्को महत्वपूर्ण कारण भनेको अन्तर्राष्ट्रिय उड्डयान प्राधिकरणको विश्वभरीकै आफ्ना सदस्य देशलाई हवाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको कारण पनि नेपालमा नागरिक उड्डयान प्राधिकरण र बेद उप्रेती ट्रष्टको सहयोगमा म्युजियम सञ्चालनमा आएको हो ।
फोटोग्राफीप्रति कसरी आकर्षित हुनुभयो रु तपाईका फोटोग्राफी सम्बन्धी कति पुस्तकहरु प्रकाशित भइसकेका छन् ?
मुख्य चाहिँ रुचि हो । मैले माउन्टेन फ्लाइट गर्दा धेरैजसो जापनिज फोटोग्राफर जसले नेकोन एयरको फ्लाइटबाट उडान गरेर फोटो खिचेर पुस्तक निकाल्ने गर्दथे । हाम्रो देश, हाम्रो हिमाल यसबारेका पहिलो ज्ञान पनि हामीसँग धेरै छ । त्यसलै एउटा विदेशी नेपाल आएर नेपालसम्बन्धि छोटो बसाइमा पुस्तक निकाल्न सक्छ भने हामी नेपालीले किन नसक्ने भन्ने सोचाइले फोटोग्राफीप्रति आकर्षित भएको हुँ । त्यतिमात्र होइन हामीले हरेक पटक माउन्टेन फ्लाइट गर्दा नयाँ नयाँ दृश्य देख्न सक्ने र त्यसलाई कैद गर्ने अवसर बढी हुनाले पनि यो सम्भव भएको हो । करिब दशवटा पुस्तक प्रकाशित भइसकेको छ । एभरेस्ट फ्रम द एअर, नेपाल फ्रम द स्काई, अन्नपूर्ण सर्किट फ्रम द वाइल्ड आईभ्यू, ३६० एभरेस्ट फ्रम वाइल्ड आईभ्यू लगायतका पुस्तक मनपराइएका छन् ।
विश्वको तुलनामा नेपालको हवाइ आकाश चुनौतिपूर्ण छ भनिन्छ रु सत्यता के हो र?
नेपालको हवाइ आकाश चुनौतिपूर्ण चाहिँ हो, हाम्रो देशमा डाँडा, काँडा छन् छ तर सुरक्षित छैन भन्ने चाहिँ होइन, सुरक्षित छ । भारत र अन्यदेशका विमानस्थलको तुलनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौगोलिक कारणले पनि जोखिमपूर्ण छ तर अत्याधुनिक प्रविधि जस्तै रेडार भेक्टर, इन्सटुर्मेन्ट ल्याण्डिक सिस्टम जडान गर्न सकेका जोखिम न्युनिकरण गर्न सकिन्छ । पार्किङ एरियाको अभाव हुनु पनि अर्को समस्या हो । रन्वे सानो र साँघुरो हुनु पनि अर्को चुनौति हो । तर यति हुँदा हुँदै पनि असुरक्षित छ भन्न चाहिँ मिल्दैन ।
हवाइ सुरक्षाको सम्बन्धमा नेपालले अपनाएका प्रावधान कस्तो छ रु विश्वको तुलना गर्दा के कमिकमजोरी देख्नुहुन्छ र?
नेपालले अपनाएका प्रावधान अन्तर्राष्ट्रिय स्तरकै छ । अझ नयाँ बनिरहेका विमानस्थलमा अत्याधुनिक प्रविधिको जडान हुनुका साथै रन्वे पनि उपयुक्त नै छ तर पुराना विमानस्थलको रन्वे विस्तार बढाउन आवश्यक छ । विराटनगर, भैरवहा लगायतका रन्वे १५०० मिटरवाट २५०० मिटर पु¥याउनु आवश्यक छ । इन्डोनेसिया लगायतका देशले चट्टान काटेर समेत विमानस्थल विस्तार गरेको पाइन्छ । नेपालले पनि यस विषयमा समयमै निर्णय गरेर विमानस्थल विस्तार गर्नु आवश्यक छ ।
नेपालमा हवाई दुर्घटना धेरै हुनुको कारण के देख्नुहुन्छ र?
नेपालमा मात्रै होइन विश्वमै हवाई दुर्घटना हुने गर्छ र दुर्घटना प्रायजसो मानवीय कारणले नै हुने गरेका छन् । केहि दुर्घटना भने प्राविधिक कारणले पनि हुने गर्दछन् ।
हवाई दुर्घटनामा प्रायः सधैं चालकलाई दोष दिने गरीन्छ रु यसप्रति तपाईंको धारणा के छ ?
मुख्यगरी हवाइ दुर्घटना हुनुमा चालकको लापरवाही नै हो । इन्जिनको गडबडीले हुने दुर्घटना निक्कै कम मात्र पाइन्छ । मानवीय त्रुटि भएर नै अधिकांश दुर्घटना भएको कुरामा कुनै दुइमत छैन ।
एउटा फरक प्रसंग, पाइलट र एयरहोस्टेकको सम्बन्धका विषयमा धेरै नकारात्मक चर्चा हुने गर्दछ रु वास्तविकता के हो र?
यसलाई चाहिँ यो हिसावले हेर्नुपर्दछ, एयरहोस्टेज पेशा ग्लामरस छ तर सम्मानजनक पेशा हो । राम्रो र आर्कषक पहिरनले एयरहोस्टेजलाई अझ ग्लामरस बनाएको हुन्छ । पाइलट र एयरहोस्टेज पनि मानव भएकाले एक अर्का प्रति आकर्षित हुन सक्छन् । तर वास्तविकतामा तपाईंले संकेत गर्न खोज्नुभएको जस्तो अवस्था केहि हुन्न । धेरै एयरहोस्टेजहरु विवाहित हुनुहुन्छ । त्यतिमात्र होइन पाइलटलेसमेत एयरहोस्टेजलाई विवाह गर्ने गरेका छन् । पाइलट र एयरहोस्टेजवीच विवाह हुनु र आफ्नौ श्रीमतीलाई एयरहोस्टेजको रुपमा काम गराउनुले पनि बजारमा चल्ने गरेको चर्चा गलत र वास्तविकताभन्दा बाहिर हो भन्ने पुष्टि गर्दछ ।
तपाईको भावी योजना के रहेको छ ?
सुरुमा एयरकार्फ्ट म्युजियम धनगढीमा खोलएिको हो । त्यसपछि काठमाडौंमा एभिएसन म्युजियमका नाममा म्युजियम सञ्चालन भइरहेको छ । यही म्युजियमलाई व्यवस्थित बनाउने, म्युजिमभित्रै मिनि धरहरा बनाउने र बालबालिका खेल्न मिल्ने पार्क, र वाटर फाउन्टेन बनाउने योजना छ । अर्को महेन्द्रनगरलाई पर्यटकीय गन्तव्य बनाउन ‘स्ट्याचू अफ सिद्धनाथ बाबा (शिव)’ निर्माण भइरहेको छ । यो प्रतिमा डेनमार्कको कोपनहेगनमा रहेको ‘स्ट्याचू अफ लिटिल मरमेड’ जस्तै हुनेछ ।
तपाईंलाई भन्न मन लागेको कुनै प्रसँग तर हामीले उठान गर्न नसकिएको विषयवस्तु कुनै छ भने बताइदिनुहोस् ।
विशेषगरी यस एभिएसन म्युजियममा कक्षा ९–१२ सम्मका विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । साथै अन्य विद्यार्थीको लागि ५० प्रतिशत छुटको दिइएको छ । आफ्ना नानीलाई लिएर म्युजियम भ्रमण गराएर हौसला बढाउन सक्नुहुन्छ । एक पटक म्युजियम आएर कसरी आकाशमा जहाज उड्छ, कस्ता कस्ता जहाज हुन्छन् भन्ने जानकारी गराएर नानीहरुको सोचमा परिवर्तन गराउन सक्नुहुन्छ । त्यसकारण सबैले एकपटक यस म्युजियममा आएर जाहज सम्बन्धि जानकारी लिनुहुन अनुरोध गर्दछु ।
अन्त्यमा, नेपालपत्रमार्फत आम पाठकवर्गमा के सन्देश दिन चाहनुहुन्छ र?
आफ्नो देशको लागि केहि न केहि सबैले गर्नुपर्दछ । प्रत्येक नागरिकले योगदान गर्ने सोच बनाएर त्यसअनुरुप अगाडि बढ्ने हो भने समाज र देशको हित हुन सक्दछ । यसो हुन सकेमा देशले छोटो समयमा नै समृद्ध हाँसिल गर्दछ ।