७ पुस २०८१, आइतबार

देशको आर्थिक सम्वृद्धिका लागि सरकारले अनुसन्धान तथा विकासमा बजेट छुट्याउनुपर्छ – प्रा. डा. नन्द बहादुर सिंह


Prof. Dr. Nanda Bahadur Singh प्रा. डा. नन्द बहादुर सिंह

प्रा. डा. नन्द बहादुर सिंह बिगत २३ बर्षदेखि त्रिभुवन विश्वबिद्यालय केन्द्रीय प्राणीशास्त्र विभागमा प्राध्यापन गर्नुहुन्छ । उहाँ त्रिभुवन विश्वबिद्यालयवाट प्राणीशास्त्र एमएस्सीको स्वर्णपदक बिजेता (Gold Medalist)पनि हुनुहुन्छ । उहाँले जापानको The University of Tokyo वाट Ethnogenomics & Molecular Ethnobiology मा पीएचडी गर्नु भएको हो । उहाँलाई सन् २००५ मा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) ले  Young Scientist of The Year 2005 मा पुरस्कृत गरेको थियो । उहाँ धेरै समयअघिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान तथा विकासमा संलग्न हुनुहुन्छ । अनुसन्धान तथा विकासको बारेमा प्रा. डा. नन्द बहादुर सिंहसंग नेपालपत्रका प्रदेश १ प्रमुख तथा रसायनशास्त्री अरुण एशियनले गरेको कुराकानी ।

१. तपाईं धेरै लामो समयदेखि नेपालमा अनुसन्धान तथा विकासमा लागि लाग्नु भएको छ । खासमा भन्नुपर्दा अनुसन्धान तथा विकास भनेको के हो ?

अनुसन्धान भनेको कुनै पनि विषय वा समस्यालाई बुझ्ने तरिका वा अन्वेषण हो । जब बुझेपछि त्यसवाट आउने समाधानको प्रक्रियालाई  नै अनुसन्धान भनिन्छ । अव उदाहरणको लागि भन्ने हो भने हाम्रो देशमा कृषिका क्षेत्रमा अथवा मेडिकल क्षेत्रमा के समस्या छन् भनेर प्रश्न सोधिहाल्यो भने त्यसमा यी यस्ता समस्याहरु छन् भन्ने कुरा अनुसन्धानकर्तादेखि बैज्ञानिक र बुद्दिजीवीहरुसंग गरिने छलफल तथा अन्वेषणको प्रक्रियालाई नै अनुसन्धान भनिन्छ ।  अनुसन्धान भनेको एउटा विधिगत र व्यवस्थित प्रक्रिया हो । अनुसन्धान भनेको बास्तवमा विज्ञानको काम भएकोले त्यसलाई ल्यावमा काम गर्नुस् या फिल्डमा गर्नुस् , त्यो अनुसन्धानवाट तपाईलाई ज्ञान आउछ ।

ज्ञान दुई किसिमका हुन्छन् । एउटा ज्ञान भनेको शुद्ध ज्ञान हुन्छ । अर्को ज्ञान भनेको ब्यबहारिक ज्ञान । आज म अरु अनुसन्धानका किसिमहरुमा नगई शुद्ध अनुसन्धान र ब्यबहारिक अनुसन्धानको बारेमा कुरा गर्न चाहन्छु । शुद्ध अनुसन्धानले बिशुद्ध ज्ञान मात्रै दिन्छ ।  मानव जातिलाई कल्याण हुने वा आर्थिक रुपमा फाईदा हुने ब्यबहारिक ज्ञान प्राप्त हुन् सक्दैन । दोस्रो महत्वपूर्ण ज्ञान भनेको ब्यबहारिक अनुसन्धानवाट प्राप्त हुने ब्यबहारिक ज्ञान त्यो ब्यबहारिक ज्ञानलाई प्रयोग गरी मानव जातिलाई आवश्यक पर्ने उप्पादन गरी बजारमा ल्याउन सकिन्छ । त्यस्तो उत्पादन वा  उद्योगले बजारमा ल्याउने प्रक्रियालाई नै विकास भनिन्छ । यसरी R & D भनेको एउटा सिक्काका दुइटा पाटा जस्तै हुन् किनभने अनुसन्धान विना विकास सम्भव छैन । विकासका लागि अनुसन्धान पुर्वसर्त रहेछ । त्यसैले हामी के भन्छौ भने, हाम्रो देशमा पनि यो अवधारणा  नीतिगत रुपमा लागू गर्नुपर्यो ।

 सन् १९२०-३० को दशकमा युरोपमा विकासलाई महत्व नदिई अनुसन्धान मात्र गरेको देखिन्छ । १९४५-५० देखि  युरोप तथा अमेरिकामा केवल अनुसन्धान मात्र नगरी संगसंगै विकास पनि गर्नुपर्छ भन्ने अवधारणाको विकास भयो यस कारणले हिजो आजका कुनै पनि उद्योगहरुमा R & D (Research & Development) को बिभाग अनिबार्य रुपमा राख्ने गरिन्छ । यसवाट के बुझिन्छ भने अनुसन्धानवाट प्राप्त भएको ब्यबहारिक ज्ञानलाई प्रयोग गरी मानव जातिको लागि सेवा वा प्रोडक्ट (Development) उत्पादन गरी बजारमा ल्याउदा देशको अर्थतन्त्र मजबुद बनाउन टेवा पुग्छ यसलाई विकास भनिन्छ । यसकारण R & D लाई एउटा सिक्काका दुई पाताको रुपमा लिइन्छ । 

२. कुनै पनि देशको विकासका लागि सरकारले अनुसन्धान तथा विकास (R & D) मा प्रयाप्त बजेट छुट्याउने गर्छ । तर नेपालमा सोचे अनुसारको अनुसन्धान तथा विकासको बजेट छुट्याउन नसक्नुको कारण के हो ?

यो २१ औं शताव्दी हो भनेर भाषण गर्छौ  । २१औं शताप्दीको विज्ञान र प्रविधिको कुरा गर्छौ । (R & D) को कुरा गर्छौ तर जब ब्यबहारमा  लागू भएको छैन । नेपालको राष्ट्रिय बजेटमा कहिले पनि (R&D) को लागि वजेट छुट्याइएको छैन । यसको लागि मैले केहि वर्ष अगाडी विज्ञान तथा प्रविधि मन्त्री र उक्त मन्त्रालयका सचिवसँग पनि १/२ घण्टा (R & D) भनेको के हो ? भन्ने बारेमा छलफल गरेको थिए । सर्वप्रथम हाम्रो देशमा कुल बजेटको एक प्रतिशत बजेट मात्र अनुसन्धान तथा विकासमा छुट्याउन सकेमा देशमा अनुसन्धानकर्ता र बैज्ञानिकहरुलाई खोज अनुसन्धान गर्ने वातावरण सिर्जना हुन्छ । त्यो अनुसार एक प्रतिशत मात्रै अहिले यो साल गर्ने त्यसपछि यसलाई बढाउदै लगियो भने हामी कहाँ-कहाँ पुग्थिउ । गतबर्ष राष्ट्रपति विधादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्दा संसदमा अनुसन्धान र  विकासमा सरकारले ध्यान दिने भनेर शब्दै लेखेर उहाँले बोल्नुभएको छ । अब त राम्रो भयो भनेर मलाई पनि खुसी पनि लाग्यो तर पछि बजेट आयो तर अनुसन्धान तथा विकासमा बजेट नै छुट्टयाइएन । त्यसैले हामीले के बुझ्नुपर्छ भने उनीहरु भाषणका लागि सजिलो सार्वजनिक गर्नका लागि (R & D) ठिक छ भन्छन् तर जब ब्यबहारमा जाँदा पैसा छुटाउन भने सक्दैनन् । संसारको डाटा हेर्ने हो भने कुल बजेटको सबैभन्दा बढी प्रतिशत (R & D) मा पैसा छुटाउने देश इजरायल रहेछ । जहाँ सन् २०१६ मा R & D को डाटा हेर्दा the total Gross Domestic Product (GDP) को ४.२५ प्रतिशत बजेट (R & D) मा इजरायलले छुट्टयाइएको रहेछ । त्यसकारण कुल बजेटको प्रतिशतको आधारमा पहिलो इजरायल ४.२५ प्रतिशत, दोस्रोमा साउथ कोरिया ४.२४ प्रतिशत, तेस्रोमा स्वीडेन ३.२५ प्रतिशत त्यसपछि जापान ३.१४ प्रतिशत रहेको छ । यो सन् २०१६ को डाटा अब हामी नेपालमा हेर्ने हो भने अनुसन्धान तथा विकासमा शुन्य बजेट छ । 

३. फेरि नेपालमा प्रोफेसर, प्राज्ञ र अनुसन्धानकर्ताले विश्वस्तरको अनुसन्धान तथा विकास गर्न पनि सकेका छैनन् । त्यसको प्रमुख कारण के होला ?

प्रमुख कारण भनेको पेटको समस्या हो । म प्रष्ट भन्छु । पहिलो कुरा के हो भने वैज्ञानिकहरुलाई खान र बस्न राम्रोसँग सरकारले दिनुपर्छ । दोस्रो कुरा के हो भनेको अनुसन्धान गर्ने प्रयोगशाला बनाउनुपर्यो, प्रयोगशालाभित्र राख्ने केमिकलहरु चाहियो । त्यतिमात्र भएर पुग्दैन काम गर्ने मानव संसाधन पनि चाहिन्छ । त्यो हुने वितिकै हामीले विश्वस्तरको अनुसन्धान नेपालवाट गर्न सकिन्छ तर त्यसका लागि वैज्ञानिकहरुको लागि खान, लगाउन पुग्ने पैसा त चाहियो । बिश्वको एउटा बैज्ञानिकलाई केमा अनुसन्धान गरिरहेको भन्दा मैले एउटा विषयभित्रको पनि यो विषयमा गर्छु भन्छ । नेपालमा एउटा वैज्ञानिकलाई सोध्यो भने दसवटैमा गर्छु भन्छ किनभने उसले कहाँवाट अवसर आउछ त्यसमा नै प्रस्ताव लगाईदिहाल्छ । 

४. नेपालमा अनुसन्धान तथा विकासका संस्थाहरु स्थापना गर्ने बारेमा भन्ने धारणामा तपाईको सुझाव के छ ?

हाम्रो देशमा (R & D) कुन क्षेत्रमा चाहिन्छ भन्ने कुरा सरकारले निर्णय गर्नुपर्छ । मैले पाँच वटा क्षेत्रमा (R & D) चाहिन्छ भनेको छु, नम्बर एक विश्वविद्यालय, नम्बर दुई मेडिकल, तेस्रो अग्रिकल्चर, चौथो उद्योग र पाचौ उर्जा (R & D) चाहिन्छ । यो पाँचवटा विषय एकदमै महत्वपुर्ण छन्  तर नेपालमा भने म अर्को के जोड्न चाहन्छु त्यो हो पर्यटन क्षेत्र । त्यसकारण नेपालमा यी छ वटालाई क्षेत्रभित्र कुन-कुन ठाउँमा कुन ल्याव कुन श्रेणीको बनाउनुपर्छ भन्ने कुरा बैज्ञानिकसंग छलफल गरेर सरकारले निर्णय गर्नुपर्छ ।

५. नेपालमा देशको माटोलाई सुहाउँदो कस्तो अनुसन्धान तथा विकास हुन् जरुरी छ ?

अनुसन्धान तथा विकास भनेको देशको भौगोलिक अवस्था र वातावरण अनुसार फरक-फरक ढंगले गर्नुपर्ने हुन्छ । मेडिकल विज्ञानमा जाँदा एसिया र अफ्रिकामा फरक हुन्छ । अरु देशमा पनि फरक होलान र हाम्रो देशक पनि फरक होला । नेपालको बातावरण सुहाउदो नेपालको मेडिकल विज्ञानको  अनुसन्धान तथा विकास हुनु जरुरी छ । त्यतिमात्र होइन कि नेपालमा १२६ जातजातिका मानिसहरु छन् । नेपालका १२६ जातजातिमध्ये तराईदेखि हिमालसम्म विभिन्न वातावरणमा विभिन्न खालका रोगहरु हुन्छन । नेपालको कुनै ठाउँमा कल्पना गर्न नसकिने नँया रोग आएमा त्यसको अध्ययन र अनुसन्धान गर्नको लागि एकाइसौं शताव्दीको मेडिकल साइन्सका ज्ञान हुनु जरुरी हुन्छ । त्यस्तै अग्रिकल्चारको कुराहरु विश्वविद्यालयहरु एक ठाउँमा ल्याव अर्को ठाउँमा र आवास अर्को ठाउँमा हुनु भएन । यदि अग्रिकल्चार ल्याव राख्नुहुन्छ भने जहाँ ठुला-ठुला अग्रिकल्चारका उत्पादन क्षेत्रहरु हुनुपर्छ । ठुलो अग्रिकल्चार उत्पादन गर्ने क्षेत्रको छेउमा ल्याव बनाउनुहोस् । वैज्ञानिकहरु पनि किसानका साथी बनोस् ।

६. नेपालका प्राकृतिक स्रोत र साधनको समुचित परिचालन गर्न कुन-कुन क्षेत्रमा प्राथमिकता दिएर अनुसन्धान गर्न जरुरी देख्नुहुन्छ ?

हामीले कृषिमा प्राथमिकता चाहियो, हाइट्रो, स्वास्थ्य, उधोगमा चाहियो उधोगमा पनि कहाँ कुन ठाउँमा बनाउने भन्ने बारेमा खोज अनुसन्धान गर्नुपर्छ । यो सबै कुरा हेर्ने त्यति मात्र भएर भएन । हाइट्रोको कामहरु गर्नलाई कुन ठाउँमा ड्याम छ । कस्तो खालको ड्याम बनाउने । कति छिटो सिध्याउने त्यो त चाहियो । त्यसकारण इमान्दारपुर्वक अग्रसर गर्नुभयो भने यो क्षेत्रमा सरकारले प्राथमिकता दियो भने त्यसमा पैसा छुटाउनुपर्यो । वैज्ञानिकहरुलाई काम गर्न लगाउनुपर्यो । वैज्ञानिकहरुको रोस्टर बनाउनुपर्यो । त्यहि अनुसार बोलाउनुपर्यो । मलाई लाग्छ, हाम्रो नेपालमा काम र अनुसन्धान गर्ने मान्छे पाइन्छन् । आवश्यक के छ भने अनुसन्धान तथा विकास पोलिसीको कमि छ । त्यतिमात्र नभई त्यसको लागु गर्दा ढिला-सुस्तीले गर्दा दिक्क लाग्न सकिन्छ । विदेशवाट आउछन् । एकदिन लाग्ने काम महिना लाग्यो भने अनुसन्धानकर्ता र बैज्ञानिकहरु बस्दैनन् । विदेश भागी हाल्छन । यसैले म के भन्छु भने सरकारले चाडोभन्दा चाडो फटाफट काम गर्ने हो भने वैज्ञानिकहरुलाई खुसी बनाएर अनुसन्धान तथा विकास गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

७. अमेरिका जस्ता विश्वमा बिकसित देशहरुले अनुसन्धान र बिकासमा कस्तो लगानी छुट्याएका छ ?

संसारका सबैभन्दा वढी अनुसन्धान र बिकासमा पैसा छुट्याउने देश अमेरिका हो । ठुलो इकोनोमी भएकोले गर्दा सबैभन्दा बढी ५५२ अरव अमेरिकन डलर भनेको अमेरिकाको बजेटको २.८ %  (R & D) मा छुट्याएको छ । उनीहरुले के बुझेभने अनुसन्धान र बिकास बिना देशको विकास गर्न सकिदैन  ।

८. अनुसन्धान र बिकासमा राष्ट्रको कुल बजेटको सवभन्दा बढी छुट्याउने देश कुन हो ? यसले कसरी बिकासको गति अघि बढाएको छ ?

संसारका सबैभन्दा वढी अनुसन्धान र बिकास (R & D) मा पैसाको हिसावले बढी बजेट छुट्याउने देश अमेरिका हो, तर GDP को तुलनामा (R & D) मा सवभन्दा बढी प्रतिशत बजेट छुट्याउने देश इजरायल हो । अमेरिकाले आफ्नो कुल बजेटको R & D मा २.८ %  छुट्याएको छ भने इजरायलमा बजेटको आकार सानो छ तर संसारमै इजरायलले R & D मा ४.२५ % छुट्याएको छ। 

९. हाम्रो देशले  कस्ता प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर अनुसन्धान र बिकासको राष्ट्रिय नीति ल्याउनुपर्छ ?

सवभन्दा सरकारले विज्ञान तथा प्रविधिमा अनुसन्धान र बिकासको नीति ल्याउनुपर्छ  । पोलिसी बनाउँदा उसको प्राथमिकता एक, प्राथमिकता दुई, प्राथमिकता तीन भनी निश्चित गर्नुपर्छ । हामीले R&D को क्षेत्रमा नयाँ नीति लागू गर्ने हो भने प्राथमिकताका आधारमा R & D मा पैसा छुट्याइएको हुनुपर्छ । University R&D, Medical R&D, Agriculture R&D, Industry R&D, Energy R&D  र Tourism R&D जसले हामीलाई धेरै फाइदा गर्छ । त्यसपछि हाम्रो अर्थतन्त्र अगाडि बढ्छ भन्ने मेरो मान्यता हो ।

१०. अन्त्यमा, सम्पूर्ण दर्शक र पाठकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भने विज्ञान र वैज्ञानिकहरु विकासका प्रेरणाका स्रोत हुन् । तिनीहरुको सम्मान गरियो भने राष्ट्रको सम्मान हुन्छ । अरु देश जस्तै जापानमा हेर्ने हो भने विश्वविद्यालयका प्रोफेसरलाई ईश्वर मान्छन किनभने उनीहरुले नँया ज्ञान प्राप्त गर्छन । त्यो नँया अनुसन्धान र विकासले मानव जातिको कल्याण गर्छ । अनि त्यसले नँया कुरा निकालियो भने नँया काम आउछ । हाम्रो देश बन्छ भनेर वैज्ञानिकप्रति हेर्ने दृष्टिकोण सम्मानजनक हुन्छ । तर हाम्रो देशमा यस्तो सम्मानजनक छैन । त्यसैले त्रिभुवन विश्वविद्यालयमा मात्र होइन । देशका विश्वविद्यालयहरुमा काम गर्ने प्रोफेसरहरुलाई सम्मानजनक बस्ने वातावरण सिर्जना हुनुपर्यो । यो खालको अनुसन्धानले नवीन ज्ञान प्राप्त गर्न सकिन्छ उक्त ब्यबहारिक ज्ञानलाई देशको इकोनोमिक्ससँग जोड्ने, जनताको जीवनस्तर उठाउने काममा लाग्ने हो भने सबै जनताले त्यस्ता वैज्ञानिकहरुलाई सम्मान गर्छन् । तर त्यो गर्नको लागि फेरि कार्यक्रम ल्याउनुपर्यो । सरकारले (R & D) मा बजेट छुटाउनुपर्यो । वैज्ञानिकहरु राष्ट्र र जनताप्रति प्रतिवद्ध हुनुपर्छ । बिदेशमा रहेका नेपाली बैज्ञानिक नेपालमा ल्याउने वातावरण सिर्जना गरी अनुसन्धान तथा विकासमा लगाउनु जरुरी भई सकेको छ होइन भने नेपाल राष्ट्रको विज्ञान प्रविधि मन्त्रालय, मन्त्री र नास्टले मात्र भनेर कोहि बिदेशमा बसेका सम्मानजनक स्थान पाएका बैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्वान नेपालीहरु आउनेवाला छैनन् । क्षमता अनुसारको काम, काम अनुसारको बाँच्न सक्ने मामको ब्यबस्था सरकारले मिलाउनुपर्छ । यो कुरा राम्ररी बुझे हुन्छ । नेपाल सरकारले देशको आर्थिक सम्वृद्धिका लागि अनुसन्धान र बिकासमा तुरुन्त बजेट छुट्याउनुपर्छ भन्ने मेरो मान्यता छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !