२ मंसिर २०८१, आइतबार

भुकम्प पीडितहरुले आफ्नो घर जतिसक्दो चाँडो बनाउनुहोला – सीईओ युवराज भुसाल


yubaraj bhusal युवराज भुसाल

१९ माघ, काठमाण्डौ । भर्खरै नेपाल सरकारले भूकम्प पिडितलाई थप १ लाख गरी ४ लाख दिने निर्णय गरेको छ ।  युवराज भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भई सकेपछि पुनर्निर्माणको काम तीब्र रुपमा अघि बढीरहेको छ । इन्जीनियरहरु र ओभरसियरहरु दुर्गम क्षेत्रका स्थानीय गाउँपालिका र नगरपालिकामा खटाई सकिएको, बिगत दुई वर्षमा ५६ हजारलाई डकर्मीहरुलाई तालिम दिईसकेको र  आउँदो फाल्गुन सम्ममा  ४१ हजार जति डकर्मीहरुलाई पनि तालिम दिईनेछ । ७० वर्ष काटेका वृद्धवृद्धा, ६५ वर्ष काटेका एकल महिला, रातो कार्ड र निलो कार्ड पाएका अपाङ्ग भएका व्यक्तिहरु र जोखिममा परेका १६ वर्ष भन्दा मुनिका बालकहरुलाई प्राधिरणकै पहलमा घर बनाईदिने भन्ने योजनाको बारेमा तथ्यांक सङ्कलन भईरहेको छ । नेपाल सरकारले फेरि अर्को दाता सम्मेलन आयोजना गर्ने तयारी भईरहेको पनि छ ।  भुसाल  प्राधिकरणको सिइयो भईसकेपछि शुरुदेखि अहिलेसम्म के कस्ता कामहरु भए, प्राधिकरणको भावी योजनाहरु के कस्ता छन् भन्ने विषयमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. सरकारले भूकम्प पिडितलाई थप १ लाख गरी ४ लाख दिने गरेको निर्णयको कार्यन्वयन कहिलेसम्म होला ?

३ लाखसम्म दिएको कुरा थाहा छ । १ लाख थप भएको कुरा यहाँ संचार माध्यमवाट सुनेका छौ । यहाँ औपचारिक रुपमा जानकारी पाएका छैनौ । अब यो वर्षको लागि वजेट व्यवस्था नभएकोले अर्को सालतिर आउने पैसाले सम्भव होला भन्ने मेरो आश भएकोले अर्को वर्षमा समावेश होला ।

२. अव सरकारले भूकम्प पिडितलाई १ लाख दिने भन्ने कुरा कार्यन्वयन हुन समय लाग्ने अबस्था देखियो होइन त ?

अव यो वर्षको ३ लाख नै दिन सकि राखेको छैनौ । ३ लाख लिएपछि न अर्को १ लाखको कुरा हो । अव त्यसो हुनाले पहिलो, दोस्रो र तेस्रो किस्ता गरी सबै लिनुपर्यो । त्यसपछि सरकारले के को लागि हो जीविका पार्जनको लागि हो अथवा घर निर्माणको लागि हो अथवा अरु के को लागि हो त्यो स्पष्ट होला । अब यो वर्ष वजेट नभएको हुनाले अर्को वर्ष मात्र कुरा होला । अब उहाँहरुले प्रक्रिया बमोजिम गर्दै जानुपर्छ । फेरि अर्को साल बनाउछु भनेर थाल्नुभयो भयो भने फेरि सरकारले अर्को साल ५ लाख बनाउछ कि भनेर थाल्नु भयो भने झन भाउ वड्दै जान्छ र समस्यामा फस्नुहुन्छ । हाम्रो भूकम्प पिडित दाजुभाई दिदीबहिनीहरु उहाँहरुले अव छिटो गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

३. तपाई पुन: निर्माण प्राधिकरणको सिइयो भईसकेपछि अहिलेसम्म के कस्ता कामहरु गर्नुभयो ?

मैले तीन महिनामा केहि फरक देखाउछु भनेको थिए । मैले प्राधिकरणवाट इन्जीनियरहरु र ओभरसियरहरुलाई भत्ताको ब्यवस्था गरेर स्थानीय गाउँपालिका र नगरपालिकामा खटाएको छु । इन्जीनियरको अब समस्या रहदैन । बिगत दुई वर्षमा ५६ हजारलाई डकर्मीहरुलाई तालिम दिईसकेको र  आउँदो फाल्गुन सम्ममा  ४१ हजार जति डकर्मीहरुलाई पनि तालिम दिईनेछ ।

४. रानीपोखरी पुरानै ढंगले बनाउने कुरा आइरहेको छ । अब प्राधिकरणको धारणा के छ ?

प्राधिकरणमा काठमाण्डौ नगरपालिका र पुरातत्व विभाग वसेर प्राधिकरणले २ बर्ष पहिला नै स्वीकृति दिएको रहेछ । रानीपोखरी यसरी बनाउने भनेर नक्सा डिजाइन २ वर्षको अगाडि कै टोलीले पारित भई सकेको थियो । अब यो काठमाण्डौ नगरपालिकाको जिम्मा हो । अब उनीहरुले गरेनन भने सबै प्रतिक्रियाहरुलाई समेटेर हामी सबैको निर्णयमा गर्नुपर्छ ।

५. इन्जिनियर, ओभरसियरहरु दुर्गम क्षेत्रमा पठाउने काम के भईरहेको छ ?

सबै ठाउँमा पठाइसकेका छौ । पहिले जिल्लामा पठाएको थिए । अहिले उही स्थानीय गाउपालिका, नगरपालिका पठाएका छौ । अब जाने इन्जिनियरहरु गई रहेका छन् । भत्ताको हिसावले हो भने हामीले ३५ देखि ७५% सम्म दुर्गम क्षेत्रको लागि भेनर ५ भागमा विभाजन गरेका छौ । अब कतिले त काम छाडेर गई सकेका छन् भने कतिले नियुक्ति नै लिएका छैनन् । जानेहरुले गई रहेका छन् भने अहिले प्राधिरणको समस्या छैन ।

६. अर्को दाता सम्मेलन आयोजना गर्ने तयारी भईरहेको कुरा सुन्नमा आएको थियो के भईरहेको छ ?

हामीले चाहिँ २ वर्ष अगाडिको स्रोत प्रतिबद्धता जनाएको हो । हामीलाई आधा भन्दा बढी पैसा नपुगेकै हो । यस बर्षसम्मलाई त्यति समस्या नहोला जस्तो लाग्छ र नेपाल सरकारको दायित्व थपिदै गएको र यी सामाजिक सुरक्षा कर्मचारीका शैक्षिक अवकाश अनि यो प्रादेशिक संरचना र भूकम्प पीडितका समस्याहरुले गर्दा अहिलेसम्म हामीले गरेका प्रगतिको समीक्षा गर्ने र मित्र राष्टहरुसँग सहयोग लिनुपर्छ जस्तो लाग्छ ।

७. अब प्राधिकरणका नयाँ चुनौतिहरु के कस्ता छन् ?

चुनौति त अहिले देखिएको छैन । चुनौती भनेको आन्तरिक हुन । अब कर्मचारीतन्त्रले कतिसम्म फास्ट काम गर्न सकिन्छ भन्ने हो । अहिलेसम्म कुनै चुनौती छैन ।

८. अव प्राधिकरणका नयाँ योजनाहरु के रहको छन् ?

अब योजना भनेका ७० वर्ष काटेका वृद्धवृद्धा, ६५ वर्ष काटेका एकल महिला, रातो कार्ड र निलो कार्ड पाएका अपाङ्ग भएका व्यक्तिहरु र जोखिममा परेका १६ वर्ष भन्दा मुनिका बालकहरुलाई हामीले घर वैकल्पिक प्राधिरणकै पहलमा घर बनाईदिने भनेका छौ र अहिले त्यो तथ्यांक सङ्कलन भईरहेको छ ।

९. नेपालपत्र मार्फत आम भुकम्प पिडित जनताहरुलाई के भन्न चाहनुहुन्छ ?

अब भूकम्प पिडित दाजुभाई दिदीबहिनीहरुलाई अब यो घर बनाउने समय हो । जति चाँडो घर बनाउनु होला । सरकारले दिने पैसा यो वर्ष अथवा अर्को वर्ष दिने पैसा दिनै हाल्छ । आश गरेर अलमल पर्नु हुदैन किनकि अहिले बजार भाउ पनि बढिरहेको छ । बर्षात याममा नत्र भने दु:ख पाइन्छ । सबैले बनाउनु होस् । कतै प्राधिरणको समस्या भयो भने सम्पर्क गर्नुहोला । गाउँपालिका, नगरपलिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुलाई सम्पर्क गर्नुहोला । उहाँहरुले गर्नेछन । जतिसक्दो घर बनाउनु होला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !