७ पुस २०८१, आइतबार

नेपाल भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने – सीईओ जोशी


दिपकराज जोशी Nepal Tourism Board

६ पुस, काठमाडौँ दिपकराज जोशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । अधिकृत पदबाट बोर्डमा प्रवेश गर्नु भएका जोशी अधिकृतबाट सीईओ हुने बोर्डकै पहिलो व्यक्ति र बोर्डका चौथो सीईओ हुनुहुन्छ । शंकरदेव क्याम्पसबाट एमबीए र त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका जोशी शालिन स्वभावका बौद्धिक र क्षमतावान बिज्ञको रूपमा पर्यटन क्षेत्रका चिनिनुहुन्छ । पर्यटन क्षेत्रमा नै लेख्ने र पढ्ने विषयमा रुची राख्ने जोशीले ईको टुरिजमा धेरै समयदेखि काम गर्नु भएको छ पहिला नेपाल पर्यटन बोर्डकै युरोप र अमेरिका मार्केटिङ डेक्स इन्चार्ज रहेका जोशी सन् २००८ देखि २०१४ सम्मको दुई कार्यकाल बर्ड कन्जरभेसन नेपालका सदस्य पनि  हुनु भएको  थियो  । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा सक्रियातापूर्वक लाग्नु भएका जोशीले गन्तव्य विकास तथा नेपालको पर्यटन प्रवर्द्धनको लागि ३० भन्दा बढी विभिन्न देशहरुको पर्यटकीय भ्रमण समेत गरि सक्नु भएको छ ।

सन् २०१७ सम्ममा लगभग ९ लाख पर्यटकहरु नेपाल आउने अनुमान बोर्डको छ । एउटा पर्यटक घुम्न निस्किदा त्यसले लगभग ११ वटा क्षेत्रमा रोजगार सिर्जना गरेको हुन्छ  ।  नेपालमा राष्ट्रको अर्थतन्त्रमा पर्यटन् व्यवसायले लगभग ४% योगदान गरिरहेको छ ।  सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने भएको छ । नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था, पर्यटन क्षेत्रका अवसरहरु र चुनौतीहरु  तथा  पर्यटन प्रवर्धनको लागि नेपाल पर्यटन बोर्डका भावी योजनाहरु के के छन् भन्ने विषयमा केन्द्रित रहेर सिइयो दिपकराज जोशीसंग नेपालपत्रका संवाददाता उपेन्द्र ढकालले गरेको कुराकानी ।

नेपाल पर्यटन बोर्डको वारेमा र आफ्नो कार्यक्षेत्रको अनुभवको वारेमा बताईदिनुहोस न ?

नेपाल पर्यटन बोर्डको वारेमा भन्नुपर्दा करीव १९ वर्ष अगाडी नेपालमा एउटा पब्लिक प्राइभेट प्रार्टनरशिप एपोरोजमा काम गर्नुपर्छ र नेपालमा सामन्यतया के छ भने पर्यटनको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको एकदमै ठुलो भूमिका रहेको र त्यो भूमिकालाई अलिकति पहिचान गर्नुपर्यो र नीजि क्षेत्रलाई नै नेत्तृवदायी भूमिका दिनुपर्यो । पर्यटन क्षेत्रलाई लिंक गर्नलाई भन्ने हिसाबले नेपाल पर्यटन बोर्डको स्थापना भएको हो, र हामी पब्लिक प्राइभेट प्रार्टनरशिप एपोरोजको आधारमा हाम्रा कार्यक्रमहरु गर्ने गर्छौ र जिम्मेवारीका हिसाबले नेपाल पर्यटन बोर्ड भनेको नेपालको मुख्य राष्ट्रिय पर्यटन गर्ने संस्था पनि हो ।

यसको काम नेपाललाई एउटा आकर्षक गन्तब्य हिसाबले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने, नेपालका सुन्दर पर्यटकीय गन्तब्यहरु, आकर्षणहरु, गतिविधिहरुलाई बिभिन्न मुख्य स्रोत बजारहरुमा र विश्वव्यापी रुपमा पनि प्रचार-प्रसार गर्ने ताकी नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु आउन र ऊनीहरुले राम्रोसंग खर्च गरुन त्यहावाट रोजगारी सिर्जना होस्, आर्थिक विकासमा टेवा पुगोस भन्ने हिसाबले हामी हाम्रा कार्यक्रमहरु केन्द्रित गरिरहेका हुन्छौ, मुख्य कामहरु र कार्यक्रमहरु भने ब्यापारिक प्रवर्द्धन गर्ने नै हुन्छन ।

मेरो आफ्नो वारेमा भन्नुपर्दा म अहिले पर्यटन बोर्डमा सिइयोको रुपमा काम गरिरहेको छु, करीव २१ महिना भयो यस पदमा नियुक्त भई काम शुरुवात गरेको र खासगरी हामीले काम शुरु गर्दा नेपालमा अलिकति दुई-तीन वटा अप्ठ्याराहरु थिए । एउटा भूकम्पपछि एकदमै शिथिल अवस्थामा पर्यटन व्यवसाय रहेको थियो । अहिले आएर हामीले धेरै काम गर्नसक्यौ, त्यो स्थिति अहिले छैन, अहिले हाम्रा पर्यटन व्यवसायीहरु धेरै उत्साहित हुनुहुन्छ । नेपाल बाहिरबाट घुम्न आउने पर्यटनहरुका माझमा पनि नेपाल एउटा आकर्षक गन्तव्य हो, जानुपर्छ भन्ने खालको चासो बढाउने काम भएको छ । अर्को कुरा फेरि हामी कहाँ चार वर्षदेखि कर्मचारी प्रमुखको नियक्ति पनि हुन सकिरहेको थिएन त्यो हिसाबले हाम्रो आफ्नै संस्था पनि एक खालको शिथिल नै थियो । अब, अहिले हामीले बिभिन्न हिसाबले लगभग २५ जना नयाँ स्टाफ लिदैछौ, आन्तरिक  व्यबस्थापनका कुराहरु अगाडी बडाएका छौ, यी सबै हिसाबले हाम्रो संस्था र हामी पनि सुध्रिदैछौ, र पर्यटनका लागि हाम्रा प्रयासहरु पनि परिमार्जित हुदैछन ।

अहिले पर्यटन क्षेत्रको वास्तविक अवस्था कस्तो रहेको छ ?

अब अहिले नम्बरका हिसाबले यो २०१७ मा हामी ऐतिहासिक उपलव्धि हासिल गर्दैछौ, पहिला-पहिला भूकम्प आउनु भन्दा आगाडी ७ लाख ५० हजार लगभग ८ लाखको हाराहारीमा पर्यटनको आगमन हुने गर्थ्यो भने यो बर्ष हाम्रो लक्ष्य लगभग १० लाख अलिकति भएतापनि निर्वाचनको गतिविधिले संख्या घटेतापनि कम्तिमा ९ लाख चाही नाग्छ भन्ने हाम्रो अहिलेको अनुमान निश्चित नै देखिएको छ । पर्यटनहरुको खर्च गराईमा पनि वृद्धि आएको छ, पहिला-पहिला ४०-४२ डलर एक दिनको पर्यटक खर्च हुन्थ्यो भने अहिले त्यो चाही ६० डलर हाराहारी आसपासमा पुग्ने हामीले देखेका छौ, त्यो हिसाबले पर्यटनमा राम्रो चासो छ ।

धेरै हिसाबले पर्यटनको आकर्षणहरु, होटलहरु, व्यवसायीहरु उत्साहित छन र चुनौती के छ भने अलिकति एकदमै महत्वपूर्ण कुरा हामी आधारभूत पूर्वाधारमा हामी निकै चुकेका छौ, अब एउटा मात्र अझ सानो अन्तर्राष्ट्रिय बिमानस्थल भएकोले एकदमै राम्रोसंग व्यबस्थापन गर्न नसकिएको अवस्थामा हामीलाई अहिले ठुलो चुनौतीको हो भने अर्को हाम्रो मुख्य पर्यटकीय क्षेत्रमा जाने बाटो घाटोहरु पनि अलिकति निर्माणकै अवस्थामा रहेकोले त्यसले पनि गाह्रो गराई रहेको छ र केहि पर्यटन स्थललाई एउटा प्राथमिकतायुक्त क्षेत्र भनेर हामीले मानी सकेपछि त्यसका लागि आवश्यक नीति-नियमहरु पनि अलिकति सहज र यस क्षेत्रलाई उत्साहित गर्ने खालको बनाईदिनुपर्छ, यी दुईवटा भागमा काम हुन्सक्यो भने पर्यटन प्रवर्दन गरेर अझ बढी पर्यटनहरु भित्राउन सक्छौ ।

नेपाल पर्यटन बोर्डका भावी योजनाहरु के छन ?

पर्यटन क्षेत्रको विकासमा हामी अलि नयाँ ढंगले पनि जान खोज्दैछौ अब केहि परम्परागत कार्यक्रमहरु हुन्छन, जो हामीले नियन्त्रण गर्नैपर्ने हुन्छ, जस्तो कि विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनीहरु पर्यटन मेलाहरुमा सहभागी हुन र नेपालको वारेमा प्रचार-प्रसार गर्ने, विदेशी पत्रकार, टुर अपरेटरहरुलाई नेपाल ल्याउने, नेपाल घुमाउने ताकी उनीहरुले नेपालको वारेमा थाहाँ पाउन र नेपाल बढी भन्दा बढी मान्छे पठाउन सहयोग गरुन भन्ने हिसाबले र त्यो वाहेक अहिलेको बिबिसी, सिएनएन जस्ता ठुला मिडियासंग मास मिडिया क्याम्पेन पनि गर्दैछौ । त्यस्तै Trip Advisor भन्ने एकदमै ठुलो अनलाईन पोर्टल मार्फत विश्वका कुनै पनि देशमा घुम्न जाने मानिस त्यसवाट जानकारी लिई घुम्न आउने, डेस्टिनेशनको वारेमा, होटेलको वारेमा, एक्टिभिटीजको वारेमा, त्यस्तो प्लेटफर्मसंग पनि हामी एमओयु (MoU) गरेर प्रवर्द्धन गर्दैछौ । त्यस्तै Lonely Planet  संग पनि सहकार्यका साथै डिजिटल मार्केटिंगका थुप्रै कार्यक्रमहरु गर्दैछौ किनभने, डिजिटल बिजनेश नबढाईकन अब हाम्रो डेस्टिनेसनको बिजनेश अगाडी बढ्न सक्दैन त्यो हिसाबले हामीले डिजिटल मार्केटिंगका कामहरु तीब्र रुपमा अगाडी बढाउने गरी यसरी नयाँ कामहरु थुप्रै गर्दैछौ ।

नेपाल पर्यटन बोर्डमा सीईओ रुपमा काम गर्दा अबसरहरु र चुनौतीहरु के कस्ता छन् ?  

अहिले मलाई खुसी के लाग्छ भने पर्यटन क्षेत्रमा लागियो किनभने अहिले आएर पर्यटन क्षेत्र मात्रै एउटा यस्तो दिगो क्षेत्र हो जसले नेपाललाई कम लगानीमा बढी प्रतिफल दिईकन विकसित गराउन सकिन्छ भन्ने खालको बुझाई धेरै ठाउंमा स्थापित भई सकेको छ त्यही अनुसार यसलाई प्राथमिकतातिर लैजान हामी सबैले मिडियाका साथीहरुले हामी सबै मिलेर यसलाई चाहिं त्यो लाइनमा अगाडी लैजानुपर्छ किनकी हामीकहाँ अथाह सम्भावना छन् । एक त हामीकहाँ एकदमै धेरै सम्पदाहरु छन, यति धेरै बिबिधता भएको गन्तव्य अथवा देश संसारमा सायदै कम छन । मलाई लाग्छ, नेपाल सबैभन्दा बढी बिबिधता भएको देश हो त्यो हिसाबले त्यही नै पर्यटकीय आकर्षण हो, सास्कृतिक हिसाबले पनि एकदमै बिबिध छौ, प्राकृतिक हिसाबले पनि छौ । अब त्यसभित्र पनि ठुला आकर्षणहरु बिबिधताहरु नयाँ-नयाँ अनुभब हासिल गर्न सकिने छ ।

पर्यटन क्षेत्रमा पहिला-पहिला के हुन्थ्यो भने विलासी सुविधा खोज्दै हिड्ने खालको हुन्थ्यो भने अहिले चाहिँ नयाँ अनुभवका लागि नयाँ गतिबिधिहरु के अनुभब गर्न पाइन्छ भनेर हामीकहाँ अथाह सम्भावना छ र यसलाई नै किन जोड दिनुपर्छ । मलाई के भन्न मन लाग्छ भने एक त यो कम लगानीमा बढी प्रतिफल निकाल्न सकिने क्षेत्र हो, अर्को महत्वपूर्ण कुरा के छ भने यो वातावरणमैत्री क्षेत्र हो, जस्तो थुप्रै ठुला-ठुला उधोगहरु कलकारखानाहरु खोल्यो भने कतिपय ठाउंमा स्थानीय समुदायलाई बिस्थापित गर्ने वातावरण बिगार्ने पनि हुन्सक्छ, तर पर्यटन क्षेत्रमा चाहिँ स्थानीय समुदायलाई यसले लिंक गरेर अगाडी बढ्छ यो क्षेत्र र यसले सस्कृति र प्रकृतिको संरक्षणमा पनि भूमिका खेल्छ । त्यो हिसाबले र फरेन एक्चेन्ज अरनिंगमा रोजगार सिर्जनामा यसले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । UNWTO (विश्व पर्यटन संगठन) ले के भन्छ भने एउटा पर्यटक घुम्न निस्किदा त्यसले विभिन्न ११ वटा काममा सहकार्य गरिरहेको हुन्छ जस्तै, खाने, हिड्ने, समान किन्ने, बस्ने, गाइड जस्ता कामले अवसर सिर्जना गरिरहेको हुन्छ त्यसकारण यो निकै नै महत्वपूर्ण र अबसर सिर्जना गर्ने क्षेत्र हो । अब हामीले यसलाई बुझ्यौ र बुझेर मात्र भएन कि हामीले हाम्रा कार्यहरु पनि दुर्त गतिमा अगाडी बढाउन केन्द्रित हुनुपर्यो ।

पर्यटन क्षेत्रलाई प्रभाव पार्ने चुनौतीहरु कस्ता छन ?

मलाई लाग्छ अहिलेको निर्वाचनपछि स्थिर सरकार हुन्छ भन्ने हामी सबैको बुझाई छ र स्थिर सरकार हुने बितिक्कै धेरै चिजहरुमा सहयोग हुन्छ । बिगतमा एक खालको पुरै राजनीति नै संक्रमणकाल जस्तो स्थितिमा थियो । एउटा सुखद पक्ष के छ भने अब देशको सबै क्षेत्रमा नेपाललाई आर्थिक विकासतर्फ अगाडी बढाउनुपर्छ भन्ने नै छ । पहिला-पहिला राजनैतिक एजेन्डाहरुले प्राथमिकता पाउथे भने अहिले आर्थिक एजेन्डाहरुले प्राथमिकता पाउने वातावरण एकदमै राम्रो बनेको छ । यी सबै सन्दर्भमा म निकै आशावादी छु र चुनौतिका हिसाबले मैले अघि पनि भने हामीकहाँ अलिकति नीति र नियममा अलि विकासमैत्री चीजहरु ल्याउन जरुरी छ, र एकदमै पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी छ, त्यो दुईवटा कुराहरुमा जोड दिइयो भने आइपर्ने चुनौतिहरुलाई समायोजन गर्न सकिन्छ ।

गत बर्षहरुको संख्याको आधारमा यो बर्ष कति पर्यटकहरु नेपाल आउने देखिन्छ ?

यसो छ, अब सन् २०१४ मा ८ लाखको हाराहारीमा पर्यटनको आगमन भएको थियो, सन् १०१५ मा चाहिं ५ लाखको हाराहारीमा थिए किनभने त्यो अबस्थामा महाभूकम्पका कारण घटेको अबस्था थियो भने सन् २०१६ मा ७ लाख ५० हजार थियो र अहिले यो बर्ष हामी कम्तिमा नौ लाख नाग्छ भन्ने आशामा छौ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले कसरी कदम चालिरहेको छ ? 

मुख्यतया अहिले हाम्रा निजी क्षेत्र जस्तै नेपालमा होटल सेक्टर, ट्राभल सेक्टर, एयरलाइन्स सेक्टर जतिपनि सेवा प्रदायक प्राइभेट सेक्टरसंग एकदम सहकार्यमा कामहरु गरिरहेका छौ, उहाँहरुका सुझावका आधारमा, अर्को हामीले हाम्रा कुटनीतिक नियोगहरु छन् र बाहिर हामीले केहि मुख्य स्रोत बजारमा जनसम्पर्क प्रतिनिधिहरु भनेर पनि एउटा स्वयंसेवकहरु जो नेपाललाई योगदान गर्न चाहनेहरुलाई एक खालको नियुक्ति दिएर काम गरी रहेका छौ, त्यो पनि प्रभावकारी भई रहेको छ । अर्को, हामीले गैर-आवासीय नेपालीहरुसंग एमओइ गरेर पनि यो कामहरु अगाडी बडाई रहेका छौ । बिदेशमा बसेर नेपाललाई माया गर्ने र मनपराउने थुप्रै बाहिर समुदायहरुसंगको सहकार्यमा नेपालको पर्यटन प्रवर्दन गरी रहेका छौ, त्यसले परिणाम पनि राम्रो दिई रहेको छ ।

नेपालमा राम्रो सम्भावना बोकेका अथाह धार्मिक पर्यटकीय स्थलहरु भएतापनि तिनीहरुको उल्लेखनीय रुपमा प्रवर्धन हुन् सकिरहेको छैन भन्ने मानिसहरुको धारणा छ नी ?

वास्तवमा हो, नेपालमा एकदमै धेरै धार्मिक पर्यटनको राम्रो सम्भावना छ । सामान्यतया के छ भने त्यो धर्मकै हिसाबले सीमित छ । मानिसहरु जाने फुल चढाउने पुजा गर्न आउने तर त्यसलाई पर्यटकीय हिसाबले अझ विकसित गर्नुपर्छ भन्ने मानसिकता अलि कम छ । पछिल्ला दिनहरुमा हलेसी, पाथिभरा र मनकामना विकसित भयो त्यो लाइनमा चाहिं विकसित गर्न जरुरी छ, त्यसका लागि हामीले प्रयत्न गरिरहेका छौ । त्यो क्षेत्रमा केहि क्रियाकलापको सिर्जना गरी  लगानी गर्ने वातावरण हामीले बनाई दिनाले मानिसहरुलाई आकर्षण गर्ने गर्दा हामीले धार्मिक क्षेत्रको प्रबर्दनमा हामीले जोड गरिरहेका छौ ।

महाभूकम्पपछि धार्मिक तथा ऐतिहासिक संरचनाको पुन:निर्माणको काममा भएको ढिलाईले पर्यटन व्यवसायीहरुलाई कस्तो असर परिरहेको छ ?

वास्तवमा हामीकहाँ यो पुन:र्निर्माणको काम अलि ढिलो भई रहेको हो, शुरुमा हामीलाई के लागेको थियो भने जति हाम्रा सम्पदाहरुमा भौतिक क्षेति भन्दा बढी चाहिं एज अ डेस्टिनेसन इमेजमा क्षेति भएकोले नेपालको हामीले प्रचार-प्रसार गर्यौ तर अहिले नेपालमा आउने पर्यटक आगमन, संख्याका हिसाबले रिकोभरी भयो । अब, हाम्रा सम्पदाहरुको पुन:र्निर्माण चाहिं हुन् सकेन, यसलाई छिटो भन्दा छिटो सकिनुपर्छ, कतिपय अवस्थामा के हुन्छ भने यो पुन:र्निर्माणको काम समयमा नहुँदा नेपाल अझै जान तयार नभएको हो कि, गन्तव्य नबनेको होकी भन्ने खालको सन्देश जाने सम्भावना रहन्छ, त्यो नहोस् । हुनत: हामीले कसरी बजारीकरण गरी रहेका छौ भने नेपाल घुम्नका लागि यो अझ रमाईलो समय पनि हो किनभने यतिखेर पुराना आर्टिफ्याक्चर कसरी बन्दो रहेछ, पुराना सीप, कला-कौशलहरु कस्ता हुन्थे, कसरी बनाइन्छ्न्, एक खालको अझ म्युजियमका हिसाबले यो अनुभव गर्न पाइन्छ, यो सही समय हो आउनुहोस भनेर हामीले प्रचार-प्रसार गरी रहेका छौ । हाम्रा सम्पदाहरुको पुन:र्निर्माण छिटो हुन् जरुरी छ ।

नेपाल भ्रमण बर्ष मनाउने कुरामा बोर्डको सोच के छ ?

हाम्रो सोच पनि त्यही नै हो, वास्तबमा हामीले २०१८ लाई नेपाल भ्रमण बर्ष भनेर सरकारले घोषणा पनि गरेको थियो, तर फेरी के भयो भने अलिकति एक खालको आर्थिक स्थिरता र राजनैतिक स्थिरता र हाम्रो जुन पूर्वाधारका कामहरु छन, अलिकति केहि हदसम्म बढुन भनेर चाहिं २०१८ लाई फेरी २०२० मा हुन भनेका छौ । अब, २०१८-२०१९ मा धेरै कामहरु गरिसक्नु पर्नेछ । त्यो तयारीका लागि सन् २०२० लाई नेपाल भ्रमण बर्ष भनेर पहिले नै नेपाल सरकारवाट घोषणा भइसकेको छ, त्यसका लागि हामी काम पनि गरी रहेका छौ । सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने भएको छ ।

पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा कसरी कति मात्रामा योगदान पुर्याएको छ ?

नेपालको अर्थतन्त्रमा निकै ठुलो योगदान छ जति पनि छ त्यसको अझ पुरा गणना हुन् सकेको छैन किनभने हाम्रा धेरै पर्यटकीय आकर्षणहरु दुर्गम क्षेत्रमा भएकोले त्यहाँ पर्यटकले कति खर्च गर्यो कति कन्ट्रीव्युट गर्यो भन्ने कुरा कतिपय केशमा नेशनल अकाउन्टमा आएको हुदैन, त्यो हिसाबले यसको ठुलो हिस्सा त क्यालकुलेट हुन् बाकी नै छ, तर जे-जति भएको छ त्यही मात्रामा पनि कुरा गर्ने हो भने सरकारी डाटा हेर्ने हो भने करीव-करीव ४% भन्छ, तर एउटा WTTC (World Trave। and Tourism Council) ले भने अनुसार ८% को GDP हामीकहाँ कन्ट्रीव्युसन छ । फरेन अरनिंगमा टुरिजम सेकेन्ड बिगेस्ट कन्ट्रीव्युटर हो, रोजगारी सिर्जनामा हामीकहाँ  WTTC डाटा अनुरुप करिब ६ लाख मानिसलाई रोजगारी सिर्जना गरेको छ, त्यो हिसाबले निकै महत्वपूर्ण भूमिका र योगदान अर्थतन्त्रका लागि पर्यटनले गरि रहेको छ । मलाई त लाग्छ कि हामी निकै ढिलो भईसक्या छौ, पर्यटनलाई बिकास गर्नका लागि अब चाहिं अझ ढिलो गर्नुहुदैन र पर्यटन सबैभन्दा बढी र सबैभन्दा छिटो नेपाललाई बिकसित गराउन सकिने सेक्टर चाहिं पर्यटन नै हो ।

अन्त्यमा, आम पर्यटन व्यवसायी, आम उपभोक्ताहरु र सम्पूर्ण नेपालीमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा निजि क्षेत्रमा पर्यटन व्यवसायीहरुमा म के अनुरोध गर्न चाहन्छु भने हामीकहाँ कहिले काहीं यो प्राइस वार चल्ने गरेको हुन्छ, अब चाहिं प्राइस वारको सट्टा हामीले सर्भिस वारतिर ध्यान दिनुपर्यो जस्तो की एकले दिईरहेको प्राइस भन्दा अर्कोले घटाइदिने र टुरिस्ट ल्याएर राख्ने जसले अल्टिमेटलि डेस्टिनेशनको इमेज राम्रो जादैन, त्यो भएर हामीले नयाँ सेवा दिने, नयाँ गतिबिधि सिर्जना गर्ने र बढी मुल्य चार्ज गर्ने पनि गर्नुपर्छ, त्यो गर्न सकियो भने देशलाई पनि फाइदा, व्यवसायीलाई पनि फाइदा हुन्छ । अर्को अहिले हामीकहाँ पछिल्ला दिनहरुमा यो आन्तरिक पर्यटन घुमफिरको निकै राम्रो वातावरण चलिरहेको छ, हामीले २०७३ लाई घुमफिर वर्ष भनेर पनि कामहरु गर्यौ र अहिले देशभरी घुम्न जाने निकै ठुलो माहोल चलेको पनि छ र यसलाई अझ निरन्तरता दिनुपर्छ । हामी अझ बढी देशभित्र घुमौ, त्यसो गर्दा हामीले इकोनोमिक्ल्ली पनि कन्ट्रीव्युट गर्यौ, देशलाई चिन्ने मौका पनि पायौ, आफ्नो सस्कृति पनि बुझ्यौ र देशभित्र एक खालको सोसल हार्मोनी पनि क्रेट भो, त्यो हिसाबले म सबै नेपालीहरुमा आफ्नो देशको आन्तरिक भ्रमणका लागि पनि अनुरोध गर्दछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !