९ मंसिर २०८१, आइतबार

सूचना प्राप्तिका निम्ति अनलाइन मिडिया पहिलो प्राथमिकतामा


काठमाडौँ, १७ जेठ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार छनोट गरिएका १७६ उत्तरदातामध्ये सबैभन्दा बढी ३१.८० प्रतिशत अर्थात् ५६ जना उत्तरदाताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिएको छ ।

सोहीअनुरुप दोस्रो र तेस्रोमा क्रमशः २४.४० प्रतिशत (४३ जना) सहभागीले सामाजिक सञ्जाल र २२.७० प्रतिशत (४० जना) सहभागीले रेडियोलाई दैनिक सूचनाको निम्ति पहिलो प्राथमिकतामा राखेको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार १८.८० प्रतिशत सहभागीले टेलिभिजनलाई सूचना प्राप्तिका लागि पहिलो प्राथमिकता राखेका छन् । अहिलेको लकडाउनको अवस्थामा मात्र २.३० प्रतिशत सर्वेक्षणमा सहभागीले मात्रै पत्रपत्रिकालाई आफ्नो दैनिक सूचना प्राप्तिको पहिलो प्राथमिकता मानेका छन् ।

लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चार माध्यमबाट के कस्ता सामग्री सम्प्रेषित भए ? सम्प्रेषित सामग्रीको प्रभाव र विश्वसनीयता कस्तो रह्यो ? समग्र मिडियाको भूमिका कस्तो रह्यो ? पत्रकार आचारसंहिता पालना र सञ्चार माध्यमको विश्वसनीयता बढाउन के गर्नुपर्छ ? स्वास्थ्य सङ्कटको अवस्थामा मिडियाले खेलेको भूमिका, जिम्मेवारी र मिडियाप्रतिको विश्वसनीयताका विषयमा केन्द्रित भई ११ वटा वस्तुगत प्रश्नसहित सर्वेक्षण गरिएको थियो ।

मिडियाकर्मी, कर्मचारी, प्राध्यापक÷शिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैंकर्स, राजनीतिकर्मी र विद्यार्थीलगायत ११ वटा पेशागत क्षेत्र, सातवटै प्रदेश, उपत्यका गरी आठ भौगोलिक क्षेत्रभित्र रहेका सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुने गरी १७६ उत्तरदाताको सर्वेक्षणमा सहभागिता रहेको थियो ।

महामारीमा सञ्चार माध्यमको प्रयोगको अवस्थाबारे पहिचान गर्ने, आमउपभोक्ताको धारणा बुझ्ने, सञ्चार माध्यम र पत्रकारका कमीकमजोरी पत्ता लगाई सुधारका उपायबारे सुझाव दिने, अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा काउन्सिलको आगामी नीति तथा कार्ययोजना निर्माण गर्ने उद्देश्यले गरिएको अध्ययनबाट सबैभन्दा विश्वासिलो मिडिया कुन हो भनेर प्रश्न गर्दा ५० प्रतिशत सहभागीले सबैभन्दा विश्वासिलो मिडियाका रूपमा टेलिभिजनलाई लिएका छन् । त्यसैगरी दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२ प्रतिशत र रेडियो सुन्ने १७.६ प्रतिशत रहेको देखिन्छ ।

सहभागीको सामाजिक सञ्जालप्रतिको विश्वास र प्राथमिकता रोजाइ ज्यादै न्यून १.१ प्रतिशत मात्र रहेको देखियो । सामाजिक सञ्जालबाट विश्वसनीय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखाएको छ । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३ः१० प्रतिशत रहेको देखिन्छ ।

पत्रकार आचारसंहिता पालनाको वर्तमान स्थितितर्फ हेर्दा सर्वेक्षणमा सहभागी अत्यधिक अर्थात करिब ६२.५ प्रतिशत उत्तरदाताको धारणामा मिडियाले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८ प्रतिशत उत्तरदाताको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६ प्रतिशत उत्तरदाताले न्यूनरूपमा पालना भइरहेको बताएका छन् । त्यसैगरी आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९ प्रतिशत सहभागीको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ । सर्वेक्षणमा समावेश गरिएका सञ्चार माध्यममध्ये दोस्रो उल्लङ्घन गर्ने पत्रपत्रिका (चार प्रतिशत) र तेस्रो उल्लङ्घन गर्नेमा टेलिभिजन (३.४० प्रतिशत) रहेको सर्वेक्षणबाट देखिएको छ ।

सामाजिक सञ्जालप्रतिको लोकप्रियता र विश्वसनीयता तथ्याङ्कअनुसार सर्वेक्षणमा सहभागीको विचार सामाजिक सञ्जालप्रतिको तथ्याङ्कलाई मात्रै आँकलन गर्दा लगभग ८०.७ प्रतिशत सर्वेक्षणमा सहभागीले फेसबुकलाई पहिलो प्राथमिकता दिएको पाइन्छ भने दोस्रोमा युट्युबलाई र तेस्रोमा ट्वीटरलाई प्राथमिकतामा राखेको देखिन्छ । त्यसैगरी कस्तो पत्रकारलाई वास्तविक पत्रकारका रूपमा बुझ्नुहुन्छ ? भनी मिडिया उपभोक्तालाई सोध्दा उपलब्ध उत्तरका सन्दर्भमा सहभागी अधिकांश (करिब ७२.७ प्रतिशत) उत्तरदाताले निरन्तर पत्रकारिता सर्वेक्षणमा संलग्न रहेका, पत्रकारिता पेशामा लामो अनुभव सङ्गालेका, यस पेशाप्रति समर्पित भएका, निष्ठावान कर्मठ, जवाफदेही, तथ्यमा आधारित विषयमा कलम चलाउने व्यक्तिलाई सही (यथार्थ) पत्रकारको सङ्ज्ञा दिन मिल्ने विचार व्यक्त गरेका छन् ।

त्यसैगरी १९.३५ प्रतिशत सहभागीले पत्रकारिता विषय पढेका व्यक्तिलाई पत्रकार मान्न सकिने भनेका छन् । यस सर्वेक्षणमा मिडियाप्रतिको विश्वास बढाउनका निम्ति मागिएको सुझावअन्तर्गत प्राप्त तथ्याङ्क हेर्दा करिब ३९.२ प्रतिशत सहभागीले जनमानसमा मिडियाप्रतिको विश्वास बढाउन पत्रकार आचारसंहिताको अनुगमनलाई अझ तीव्र बनाउँदै लैजानुपर्ने, यसो गर्दा पत्रकार अनुशासित हुने, सत्य÷तथ्य÷भरपर्दो समाचार सम्प्रेषणमा सजग हुने विचार व्यक्त गरेको देखिन्छ । यस्तै २१.१ प्रतिशत सहभागीले मिडियाकर्मीलाई समयानुकूल पत्रकारिता विषयक तालीम प्रदान गरिनुपर्ने सुझाव दिएका छन् । तालीमले तथ्यपूर्ण समाचारको महत्व बुझेर उनीहरूको कार्यक्षमतामा पनि सकारात्मक वृद्धि भई विश्वासिलो समाचार प्रस्तुत हुने वातावरण बन्दै जाने विचार व्यक्त भएको सर्वेक्षण समितिका सदस्य काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी १९.३ प्रतिशत सहभागीले पत्रकारको पेशाप्रतिको जवाफदेही, इमान्दारिता र पेशाप्रतिको व्यावसायिकतामा ध्यान पु¥याउन सके जनमानसको मिडियाप्रतिको विश्वास बढ्दै जाने विचार राखेको देखिन्छ । यस्तै १४.२ प्रतिशत सहभागीले विद्यमान कानूनमा संशोधन गरी आचारसंहिता उल्लङ्घन गर्नेलाई सजायको व्यवस्था गर्न सके भ्रमपूर्ण समाचार सामग्रीको प्रचार प्रसारमा कमी आई जनमानसमा मिडियाप्रति विश्वास बढ्दै जाने विचार व्यक्त गरेको देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !